तेह्रथुम फागुन २८ गते। रातो तारा डट कम-
जिल्लाको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् ।
पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्थानीयवासीले रु नौ लाख रुपैयाँभन्दा बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् ।
स्थानीयवासीका अनुसार बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो । सडकलगायत अन्य पूर्वाधारको विकास भएसँगै लसुने बजारको रुप फेरिँदो छ ।
पर्यटकको आवागमन पनि बर्षे्नि बढिरहेको छ । बजार नजिकको पात्लेपोखरी र चिया बगानका कारण लसुने बजारमा पर्यटकीय आवागमन हुने गरेको स्थानीयवासी पुण्यप्रसाद तिम्सिनाले बताए ।
यहाँ आउने आन्तरिक पर्यटकले लसुने बजारका बारेमा सोधपुछ गर्ने र अचम्मित हुने गरेकाले पनि उनीहरुलाई प्रस्ट पार्नसमेत लसुन स्तम्भ आवश्यक ठानेर निर्माण गरिएको उनले बताए । ‘लसुन स्तम्भ हाम्रो पहिचान हो,’ तिम्सिनाले भने, ‘यहाँ आउने पर्यटकलाई पनि स्तम्भले थप मनोरञ्जन दिएर अल्मल्याउने छ भन्ने हाम्रो विश्वास छ ।’
स्तम्भ निर्माण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएर गएको स्थानीयवासी पदमबहादुर नेपालीको भनाइ छ । यो बजार भएर पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले, रातपोखरी, पात्लेपोखरी तथा आकर्षक चिया बगान जाने आउनेको सङ्ख्या वर्षेनि बढिरहेको छ ।
लसुने बजारको मुख्य चोकमै लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न प्रयास गरिएको निर्माण समितिका संयोजक धर्मराज खड्काले बताए ।
स्तम्भ स्थानीयवासी, गाविस र अन्य दाताको सहयोगबाट गरी कुल ९ लाख ७ हजार एकसय ५५ रुपैयाँको लागतमा निर्माण गरिएको उनले जानकारी दिए ।
Post a Comment