बिराटनगर,फागुन २६ गते । रातो तारा डट कम-
स्थानीय तहको सिमाना र संख्या निर्धारण गर्ने आयोग र त्यसलाई फेरबदल गर्ने सरकारी निर्णयमाथि संवैधानिक प्रश्न उठेको छ । आयोगले अपूरो प्रतिवेदन दिन नमिल्ने र सरकारले त्यसलाई फेरबदल गर्न नसक्ने संवैधानिक प्रावधान भएको कानुनविद्हरूको भनाइ छ ।
संविधानको धारा २९५ को उपधारा ३ अनुसार स्थानीय तह पुनर्संरचना आयोग गठन भएको हो । सो धारामा स्पष्ट भनिएको छ, ‘गाउँपालिका, नगरपालिका तथा विशेष,संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्नेछ । त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्नेछ ।’
विशेष, संरक्षित वा स्वायत्त क्षेत्रसमेत निर्धारण गर्नुपर्नेमा आयोगले गाउँपालिका र नगरपालिकाको मात्र संख्या र सिमाना निर्धारण गरेकाले प्रतिवेदन अपूरो भएको आयोगकै सदस्य सुनीलरञ्जन सिंहको भनाइ छ ।
‘गाउँ र नगरपालिकाको सीमा र संख्या निर्धारण गरिएको छ, तर विशेष र संरक्षित क्षेत्र के हो र कहाँ छ भन्ने आयोगलाई नै थाहा छैन, त्यसैले संविधानले दिएको काम आयोगले पूरा नै गरेको छैन,’ उनले भने ।
सीमा र संख्या आफैँ निर्धारण गर्ने संवैधानिक दायित्व आयोगको भए पनि सरकारले त्यसलाई सिफारिसका रूपमा लिएर हेरफेर गरेकोमा अर्का कानुनविद् दीपेन्द्र झाले आपत्ति जनाएका छन् । ‘आयोगको प्रतिवेदन अन्तिम निर्णयका रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरकारले सिफारिस मात्र मानेको छ, हेरफेर गर्ने अधिकार सरकारलाई संविधानले दिएको छैन,’ उनले भने ।
आयोगले दिएको अपूरो प्रतिवेदन असंवैधानिक हुने दाबी गर्दै झाले दुई साताअघि सर्वोच्चमा रिट हाल्न खोजेका थिए । तर, अदालतले दरपीठ गरिदिएको थियो । प्रतिवेदन हेरफेर गरेर सरकारले असंवैधानिक काम गरेको भन्दै झा फेरि अदालत जाने तयारीमा छन् । आयोगको प्रतिवेदन सरकारले चलाएकोमा प्रश्न उठाउँदै अधिवक्ता चिरञ्जीवी रिजालले २३ फागुनमै सर्वोच्चमा रिट दायर गरेका छन् । सरकारी कदमलाई असंवैधानिक भन्दै आयोगका सदस्य सुनीलरञ्जन सिंहले पनि राजीनामा दिएका छन् ।
निर्वाचन आयोगले पायो स्थानीय तहको प्रतिवेदन
स्थानीय तहको प्रतिवेदन निर्वाचन आयोगले प्राप्त गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटा स्थानीय तह कायम भएको र सोहीअनुसार निर्वाचन कार्यक्रम अगाडि बढाउन आयोगलाई पत्रमार्फत जानकारी गराएको हो ।
प्रतिवेदन राजपत्रमा छाप्न आज पठाइँदै
स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकनसहित राजपत्रमा प्रकाशित गर्न बिहीबार पठाउने तयारी भएको जानकारी दिए । निर्वाचन आयोगलाई बुधबार नै पूर्ण विवरण दिने र राजपत्रमा पनि प्रकाशित गर्ने तयारी भए पनि १२ जिल्लाको काम नसकिएका कारण ढिलाइ भएको
हो ।
प्रतिवेदनमा मन्त्री जोशीले हस्ताक्षर गरेनन्
पुनरावलोकन समितिका सदस्य उद्योगमन्त्री नवीन्द्रराज जोशीले कार्यदलको प्रतिवेदनमा हस्ताक्षर गरेका छैनन् । स्थानीय विकास मन्त्रालय स्रोतका अनुसार मन्त्री जोशीले प्रतिवेदन घरमा लगेर अध्ययन गर्न माग गरेका थिए । कार्यदलका अन्य सदस्य र स्थानीय विकास मन्त्रालयले नमानेपछि रिसाएका जोशीले प्रतिवेदनमा हस्ताक्षर नगरेका हुन् ।
कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डे, अर्का सदस्य आपूर्तिमन्त्री दीपक बोहरा र कार्यदलका सदस्यसचिव केदारबहादुर अधिकारीले भने हस्ताक्षर गरेका छन् । नयाँ पत्रिका दैनिकबाट
कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डे, अर्का सदस्य आपूर्तिमन्त्री दीपक बोहरा र कार्यदलका सदस्यसचिव केदारबहादुर अधिकारीले भने हस्ताक्षर गरेका छन् । नयाँ पत्रिका दैनिकबाट
Post a Comment