Websoft University
Latest Post


झापा  साउन १६ गते । सुरेन्द्र भण्डारी- अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षण गर्ने सीमित कार्यका रूपमा नभई मुलुकको आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल अडिटर्स   एशोसिएसन झापा (अडान) को २१ औ स्थापना दिवसका अवसरमा शनिबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले अडिट पेशाको बदलिँदो भूमिका, व्यवसायिक नैतिकता, विश्वसनीयता र गुणस्तरीय सेवाको आवश्यकतामाथि विशेष जोड दिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल अडिटर्स   एशोसिएसन अफ नेपाल (AUDAN) का केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट व्यवसाय अहिले परम्परागत दायराभन्दा धेरै अघि बढिसकेको बताए। उनले स्थापना दिवस केवल औपचारिक उत्सवको विषय नभई पेशाको वर्तमान अवस्था मूल्याङ्कन गर्दै भविष्यको दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

उनले दर्तावाला लेखापरीक्षक (Registered Auditor) को जिम्मेवारी केवल वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन तयार गर्नेमा सीमित नरहेको उल्लेख गर्दै त्यसबाट व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजले आर्थिक निर्णय लिन आधार प्राप्त गर्ने बताए।

“हाम्रो प्रतिवेदनप्रति धेरै पक्षको विश्वास जोडिएको हुन्छ,” उनले भने, “त्यसैले इमानदारी, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरलाई पेशाको मूल आधार बनाउन आवश्यक छ।”

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशामा सबैभन्दा ठूलो सम्पत्ति कार्यालय वा भौतिक पूर्वाधार नभई विश्वसनीयता रहेको बताए। उनले पेशागत दक्षता अभिवृद्धिसँगै प्रदेश समितिले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउँदै व्यवसायिक आचरणलाई सुदृढ बनाउन निरन्तर तालिम र अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गरे।

“हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हाम्रो ग्राहक मात्र होइन, उनीहरूको विश्वास हो,” उनले भने, “त्यही विश्वासलाई कायम राख्न गुणस्तरीय सेवा र नैतिक आचरण अपरिहार्य हुन्छ।”

अडान झापाका अध्यक्ष  पर्शुराम वुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका दर्तावाला लेखापरीक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रीय सचिव जयधर्म पोखरेल, केन्द्रीय सदस्य होमनाथ उप्रेती, माधव घिमिरे, केन्दिय सदस्य खडानन्द गुरागाई, कोशी प्रदेशका दिलबहादुर पौडेल, भलाकाजि कठेत  , पूर्व जिल्ला अध्यक्ष  चूडामणि चिमरिया लगायतले अडिट व्यवसायमा देखिएका चुनौती, अवसर तथा क्षमता अभिवृद्धिका विषयमा धारणा राखेका थिए।

सहभागीहरूले नियामकीय व्यवस्था परिवर्तन, डिजिटल वित्तीय प्रणालीको विस्तार तथा व्यवसायिक उत्तरदायित्व बढ्दै गएका कारण अडिट पेशामा निरन्तर अध्ययन, अद्यावधिक ज्ञान र व्यावसायिक सीप विकास अपरिहार्य बन्दै गएको निष्कर्ष निकाले।

कार्यक्रमको सञ्चालन अडान झापाका सचिव खिवलाल अधिकारी ले गरेका थिए। स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षणले अडिट व्यवसायलाई थप उत्तरदायी, विश्वसनीय र गुणस्तरीय बनाउने प्रतिबद्धतालाई पुनः सुदृढ गरेको आयोजकको विश्वास छ।


काठमाडौं साउन १६ गते । सुरेन्द्र भण्डारी- बजारमा अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी, उपभोक्तामाथिको ठगी तथा सेवा क्षेत्रमा बढ्दो गुनासोका बीच उपभोक्ता अधिकारको प्रभावकारी संरक्षणका लागि कानुनी र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्षसहित उपभोक्ता जागरण अभियान ९नेपाल० ले सरकारलाई १६ बुँदे सुझाव बुझाएको छ।

अभियानले शुक्रबार नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटा तथा संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति का सभापति रहवर अन्सारीलाई सुझावपत्र बुझाएको हो।

अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीका अनुसार वर्तमान बजार व्यवस्थापन प्रणालीमा रहेका संरचनागत कमजोरी हटाएर कानुनी तथा संस्थागत सुधार नगरेसम्म संविधानले प्रत्याभूत गरेको उपभोक्ताको अधिकार व्यवहारमा सुनिश्चित हुन सक्दैन।

सुझावपत्र बुझाउन अध्यक्ष भण्डारीसँगै उपाध्यक्ष रोहित दाहाल, महासचिव चिन्तामणि पराजुली, केन्द्रीय सदस्य मुरारी ओस्तीलगायतको टोली सरकारी निकायमा पुगेको थियो।

सरकारले आर्थिक वर्ष २०८३ / ८४ मा १६६ वटा कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्ने तयारी गरिरहेको सन्दर्भमा अभियानले त्यसलाई उपभोक्ता संरक्षण प्रणाली सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ। त्यसका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ मा तत्काल संशोधन गरी समयसापेक्ष बनाउनुपर्ने सुझाव दिइएको छ।

अभियानका अनुसार बजारको स्वरूप तीव्र रूपमा परिवर्तन भए पनि नियमन प्रणाली, कानुनी संरचना र बजार अनुगमनको अभ्यास समयअनुकूल परिमार्जन हुन नसक्दा बजार सुशासन कमजोर बन्दै गएको छ। परिणामस्वरूप उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संवैधानिक अधिकार व्यवहारमा पूर्ण रूपमा उपयोग गर्न सकेका छैनन्।

नेपालको संविधानले प्रत्येक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ ले अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण, गुणस्तर कायम, क्षतिपूर्ति तथा प्रभावकारी नियमनको व्यवस्था गरे पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको अभियानको निष्कर्ष छ।

कानुनभन्दा कार्यान्वयन कमजोर

अभियानले बजारको समस्या कानुनको अभावभन्दा पनि कार्यान्वयनको कमजोरीसँग जोडिएको जनाएको छ। संघ, प्रदेश र स्थानीय तहमा बजार अनुगमन गर्ने संयन्त्र रहे पनि तिनको कार्यक्षमता, समन्वय र नियमिततामा कमजोरी देखिएको उल्लेख गरिएको छ।

सुझावपत्रमा संघीय शासन व्यवस्थाअनुसार तीन तहका सरकारबीच बजार अनुगमनको जिम्मेवारी स्पष्ट रूपमा विभाजन गर्नुपर्ने उल्लेख छ। कुन तहले कुन व्यवसायिक क्षेत्रको अनुगमन गर्ने भन्ने विषय ऐनमै स्पष्ट नहुँदा अधिकार क्षेत्र दोहोरिने, कतिपय क्षेत्रमा नियमन नै नहुने र बजार व्यवस्थापन प्रभावकारी बन्न नसकेको अभियानको भनाइ छ।

उपभोक्ता अदालतलाई थप अधिकार

अभियानले उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन अनुसन्धान र न्यायिक प्रक्रियाबीच स्पष्ट विभाजन आवश्यक रहेको औँल्याएको छ।

सुझावअनुसार बजार अनुगमन गर्ने निकायले अनुसन्धान र प्रमाण संकलन गर्ने तथा अन्तिम फैसला, जरिवाना र सजाय सम्बन्धी अधिकार उपभोक्ता अदालतलाई मात्र दिनुपर्ने व्यवस्था हुनुपर्छ। यसले न्यायिक प्रक्रिया निष्पक्ष, छरितो र विश्वसनीय बन्ने अभियानको विश्वास छ।

त्यसैगरी खाद्य, औषधि, स्वास्थ्य, सूचना प्रविधि, निर्माण सामग्री, बैंकिङ तथा अन्य प्राविधिक विषयका विवादमा अदालतले सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।

प्रमुख जिल्ला अधिकारीको भूमिका पुनःस्थापना गर्न माग

उपभोक्ता संरक्षण ऐन, २०५४ मा प्रमुख जिल्ला अधिकारीको समन्वयकारी भूमिका रहे पनि २०७५ को ऐनमा त्यो व्यवस्था हटाइएको थियो। त्यसपछि जिल्ला तहका नियामक निकायबीच समन्वय कमजोर भएको अभियानको निष्कर्ष छ।

यसै कारण प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख, संघ, प्रदेश र स्थानीय तहका निरीक्षण अधिकृत सदस्य रहने गरी जिल्ला बजार अनुगमन समन्वय समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ। यस्तो संयन्त्रले संयुक्त अनुगमन, सूचना आदानप्रदान तथा कारबाहीलाई प्रभावकारी बनाउने विश्वास अभियानले व्यक्त गरेको छ।

दण्ड प्रणाली व्यवहारिक बनाउनुपर्ने

अभियानले अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रणका लागि कडा कानुन आवश्यक भए पनि दण्ड व्यवस्था व्यवहारिक हुनुपर्नेमा जोड दिएको छ।

जरिवाना, कैद सजाय तथा अन्य कानुनी प्रावधान संशोधन गर्दा सरोकारवालासँग व्यापक छलफल गरी कानुनको सिद्धान्तसँग मेल खाने र व्यवहारमा लागू गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

वस्तु फिर्ता गर्ने अधिकार, अनिवार्य बिल जारी गर्ने व्यवस्था तथा उपभोक्ताको प्रमाण सुरक्षित गर्ने विषयमा पनि समयानुकूल सुधार आवश्यक रहेको अभियानको भनाइ छ।

वर्षभरि नियमित बजार अनुगमनको माग

नेपालमा बजार अनुगमन अधिकांश समय चाडपर्व केन्द्रित हुने गरेको उल्लेख गर्दै अभियानले वर्षभरि कार्ययोजनासहित नियमित अनुगमन सञ्चालन गर्न आग्रह गरेको छ।

केन्द्रीय, प्रदेश र स्थानीय बजार अनुगमन समितिले वार्षिक कार्ययोजना तयार गरी त्यसको कार्यान्वयन सार्वजनिक गर्नुपर्ने तथा विशेषगरी श्रावण महिनाभित्रै दशैं, तिहारलगायत चाडपर्व लक्षित बजार हस्तक्षेप योजना तयार गर्नुपर्ने सुझाव दिइएको छ।

यसले कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न सहयोग पुग्ने अभियानको विश्वास छ।

गुनासो सुनुवाइलाई प्राथमिकता

अभियानले उपभोक्ताको गुनासो सुनुवाइलाई बजार सुशासनको आधार मानेको छ। उजुरी दर्ता, अनुसन्धान, कारबाही र क्षतिपूर्ति प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिइएको छ।

सेवा क्षेत्र पनि अनुगमनको दायरामा

हाल बजार अनुगमन मुख्यतः वस्तुको कारोबारमा केन्द्रित रहेको भन्दै अभियानले सेवा क्षेत्रलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ।

शिक्षा, स्वास्थ्य, बैंकिङ, बीमा, यातायात, होटल, पर्यटन, दूरसञ्चार, डिजिटल सेवा तथा ई–कमर्स क्षेत्रमा उपभोक्ताका गुनासा बढ्दै गएको उल्लेख गर्दै ती क्षेत्रमा पनि नियमित बजार अनुगमन गर्नुपर्ने सुझाव दिइएको छ।

अभियानका अनुसार आधुनिक अर्थतन्त्रमा सेवा क्षेत्रको विस्तार तीव्र गतिमा भइरहेका बेला वस्तुमा मात्र सीमित नियमनले उपभोक्ताको अधिकारको पूर्ण संरक्षण गर्न सक्दैन।

नीतिगत सुधारको अवसर

सरकारले आगामी आर्थिक वर्षमा ठूलो संख्यामा कानुन संशोधन गर्ने तयारी गरिरहेका बेला उपभोक्ता संरक्षण ऐनलाई समयानुकूल परिमार्जन गर्ने उपयुक्त अवसर सिर्जना भएको अभियानको निष्कर्ष छ।
कानुनी अस्पष्टता हटाउने, तीन तहका सरकारबीच जिम्मेवारी स्पष्ट गर्ने, उपभोक्ता अदालतलाई प्रभावकारी बनाउने, सेवा क्षेत्रलाई अनुगमनको दायरामा ल्याउने र बजार अनुगमनलाई नियमित तथा परिणाममुखी बनाउने हो भने उपभोक्ता अधिकारको संरक्षणसँगै समग्र बजार प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र सुशासन स्थापना गर्न महत्वपूर्ण योगदान पुग्ने अभियानको विश्वास छ।

बजार अर्थतन्त्रको सफलता वस्तुको उपलब्धताले मात्र निर्धारण हुँदैन। गुणस्तर, निष्पक्ष प्रतिस्पर्धा, पारदर्शी कारोबार र उपभोक्ताको विश्वास नै स्वस्थ बजारका आधार हुन्। उपभोक्ता जागरण अभियानले सरकारसमक्ष प्रस्तुत गरेको सुझावले यही पक्षलाई केन्द्रमा राख्दै कानुन, संस्था र कार्यान्वयनबीचको दूरी घटाउन आग्रह गरेको छ। अब सरकारले यी सुझावलाई आगामी कानुनी तथा नीतिगत सुधारमा कत्तिको समेट्छ भन्ने विषयले नेपालको उपभोक्ता अधिकार संरक्षणको भावी दिशा निर्धारण गर्नेछ।


काठमाडौं साउन १५ गते । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ कन्क्लेभ -केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।

''जेन–जेड हिरोजलाई सम्मान'' मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
आयोजकका अनुसार गत भदौमा भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति सम्मान अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस, योगदान र समर्पणको सम्मान गर्ने उद्देश्यले यस वर्षको कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन् । साथै, विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुका साथै के–टु -केटु) हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाइसी युवा प्रेरणा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, नृत्यांगना तथा मोडल कविता नेपाली, अभिनेता पारस बम, गायक तथा संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, सामग्री निर्माता कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ । कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधान ले गर्नेछन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। एनसेल फाउन्डेसन ले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आइएमई बैंक, रेड बुल नेपाल, खल्ती, नेसनल प्याथल्याब र एसीसीए क्रमशः बैंकिङ, ऊर्जा पेय, डिजिटल भुक्तानी, स्वास्थ्य परीक्षण तथा शैक्षिक साझेदारका रूपमा रहेका छन् ।

कार्यक्रममा करिब पाँच हजारभन्दा बढी युवा तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको केवाइसीका संयोजक राजु टण्डनले बताउनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.