Websoft University
Latest Post


बिराटनगर असेाज १८ गते । कोशी र मधेश प्रदेश बीचको आर्थिक, औद्योगिक, पूर्वाधार तथा पर्यटकीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघद्वारा मधेश प्रदेशका माननीय प्रदेश प्रमुख, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्रतिष्ठित अर्थशास्त्री प्राध्यापक डाक्टर सुरेन्द्र लाभज्यूसँग एक विशेष अन्तर प्रदेश छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

संघका अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा आयोजित सो कार्यक्रममा उहाँले स्वागत मन्तव्य दिँदै संघले स्थापनाकालदेखि आर्थिक, औद्योगिक, सामाजिक एवं स्थानीय पूर्वाधार निर्माणमा पु¥याएको योगदानबारे माननीय प्रदेश प्रमुखज्यूलाईजानकारी गराउनु भएको थियो । अध्यक्ष साहले विराटनगर–घिनाघाट सडक, कोशी अस्पतालको प्रसूति गृह, क्याम्पस तथा विमानस्थल प्रवेशद्वार निर्माण लगायत मधेश प्रदेशको महोत्तरी बाढी तथा वीरगञ्जको विपद्मा संघले पु¥याएको राहतको स्मरण गर्नु भएको थियो । साथै, हाल बैंकहरुका न्यून ब्याजदरका बावजूद लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्र संकुचित रहेको उल्लेख गर्दै दुई प्रदेशबीच स्रोतसाधनको अधिकतम उपयोग, लगानी आकर्षण र व्यापार विस्तारका लागि संस्थागत सहकार्य हुनु पर्नेमा अध्यक्ष साहले जोड दिनु भएको थियो ।

सोही क्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठीले दुवै प्रदेश कृषि, उद्योग र पर्यटनका दृष्टिले प्रचुर सम्भावनायुक्त रहेकाले सरकारले उत्पादनमुखी व्यवहार्य नीति ल्याए मुलुककै कायापलट हुन सक्ने बताउनु भएको थियो । उहाँले बैंकहरुमा पर्याप्त पुँजी र उद्योगहरुसँग गुणस्तरीय उत्पादन क्षमता रहेकाले उत्पादन वृद्धिलाई आकर्षित गर्ने नीति ल्याउन, सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी कडाइका साथ नियन्त्रण गर्न र भन्सार दर समायोजनमार्फत स्वदेशी उद्योगको संरक्षण गर्न अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी, संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले कोशी र मधेश जोड्ने सडक पूर्वाधार कमजोर हुँदा ढुवानी खर्च र समय बढेको बताउँदै १०० किमी प्रतिघण्टाको गतिमा गुड्न सक्ने द्रुतमार्ग निर्माण गरिनु पर्ने माग राख्नु भएको थियो । विराटनगरबाट जनकपुर २ घण्टा र वीरगञ्ज ३ घण्टामा पुग्न सकिने सडक स्तरोन्नति गर्न, विराटनगर रेलवेलाई जनकपुरसम्म जोड्न, अव्यावहारिक मूल्य अभिवृद्धि कर पुनरावलोकन गर्न तथा दुवै प्रदेशका करका दरहरुमा एकरुपता कायम गर्न उहाँले सुझाव दिनु भएको थियो ।

त्यस्तै, कार्यक्रमलाई सञ्चालन गर्नु भएका संघका महासचिव अमित कुमार सारडाले उद्योगी व्यवसायीहरुको उधारो नउठ्ने विकराल समस्या समाधानका लागि ध्यानाकर्षण गराउनु भएको थियो । साथै, कार्यकारिणी सदस्य बन्दना जैनले महिला हितका कानुन सुदृढ गर्नुपर्ने, उद्योगी प्रवीन नारायण चौधरीले नेपाली उत्पादनले भारतका नजिकका बजारमा पहुँच पाउनुपर्ने, सञ्चारकर्मी अनुज सापकोटाले तत्काल राहतजन्य नीति आवश्यक रहेको तथा सञ्चारकर्मी सोनु कुमार दासले विराट राजाको दरबार र जानकी मन्दिर जोडेर विराटनगर–जनकपुर रिलिजियस एण्ड हेरिटेज सर्किट सञ्चालन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश प्रदेशका माननीय प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभले विराटनगर आफ्नो दोस्रो घर रहेको स्मरण गर्दै नेपालमा रेमिट्यान्समा आधारित अर्थतन्त्र रहेकाले उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा युवा सहभागिता बढाउनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो । 

उहाँले दुवै प्रदेशमा विगतमा चलेका तर हाल जीर्ण वा बन्द अवस्थामा रहेका उद्योगहरुको पुनः सञ्चालन, औद्योगिक पुनरुत्थान तथा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा अन्तरप्रदेशीय सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । भूगोल र जनसांख्यिक अवस्था अनुसार फरक–फरक नीति तर्जुमा हुनुपर्ने, उद्योगको न्यूनतम लागत उठ्ने व्यवस्था हुनुपर्ने तथा कृषिमा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिई निजी लगानी आकर्षित गर्नुपर्ने उहाँको धारणा रहेको थियो ।

 साथै, दुवै प्रदेशको पर्यटकीय सौन्दर्यको प्रचारप्रसार र विराट राजा दरबारको थप उत्खनन गरिनुपर्ने बताउँदै उहाँले वर्तमान अर्थमन्त्री र गभर्नर निजी क्षेत्रमैत्री रहेकाले सरकार र निजी क्षेत्रको सहकार्यबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नु भई कार्यक्रमबाट प्राप्त सुझावहरु सम्बोधन गराउन आफ्नो प्रतिवद्धता व्यक्त गर्दै संघको ७५ वर्ष पुगेको सुखद अवसरमा हार्दिक बधाई समेत ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


बिराटनगर २०८३ असोज ९ गते । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय राम प्रसाद महतोज्यूले हिजो मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न मन्त्रालयमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ ।

कार्यक्रममा माननीय मन्त्रीज्यूले संघको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै उहाँले कोशी प्रदेशमा उद्योग–व्यवसाय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा संरक्षणका लागि प्रदेश सरकार पूर्ण रुपमा कटिबद्ध रहेको बताउनु भई प्रदेशमा आर्थिक समृद्धि हासिल गर्न मोरङ उद्योग व्यापार संघसँगको सहकार्यमा कृषि र उद्यमशीलता क्षेत्रका साथै निजी क्षेत्रका संघ–संस्थाहरुसँग हातेमालो गर्ने कार्यहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा संघका अध्यक्ष अनिल कुमार साहले प्रदेश सरकार तथा मन्त्रालयले देखाएको सम्मान र शुभेच्छाप्रति आभार प्रकट गर्दै क्षेत्रको उद्योग–व्यवसायको संरक्षण, प्रवद्र्धन र समग्र आर्थिक समृद्धिका लागि संघ निरन्तर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त स्वागत तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार साह सहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्यहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय लगायतको उपस्थिति रहेको थियो ।

 


विराटनगर असेाज ८ गते । विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय छनोट गरिएको थियो । सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।

कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको टुंगो लगाएको हो । सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको प्रमुख निर्णायक नवोदितले बताए ।

प्रतियोगिताबाट उत्कृष्ट सात विद्यार्थी पनि छनोट भएका छन् । उत्कृष्ट सातमा अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास परेका छन् ।

प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्लस टुका प्रिन्सिपल मनिष भट्टराईले बताए ।

विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको भट्टराईले बताए । उनका अनुसार अर्किटले कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका गतिविधिलाई नियमित रूपमा अघि बढाउँदै आएको छ ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.