Websoft University
Latest Post


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्नुभएको छ ।
शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा,समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न प्रमुख दाहालसहितको टोली त्यहाँ पुगेको हो ।

भरतपुर महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कार्यक्रममा यस आर्थिक वर्षमा केही नमुना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवम् संवाद गरिने छ ।
कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।
विद्यालयको सुधारका लागि प्रयाप्त मात्रमा भौतिक पूर्वाधारहरु निर्माण भइसकेकोले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरु अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा महानगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो ।
शिक्षा क्षेत्रमा ठुलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको थियो ।
जनकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीहरुले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए ।
महानगरपालिकाले विद्यालयमा गर्दै आइरहेको बजेट विनियोजनमा सन्तुष्ट देखिएका छन् ।
विद्यालयमा देखिएका केही समस्यालाई तत्काल नै समधान गर्ने गरी विद्यालय व्यवस्थापन समितिसँग छलफल पनि गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।
यसले विद्यार्थीको नेतृत्व विकासमा ठुलो सहयोग पुराउने भएकाले भरतपुरका विद्यालयमा प्रमुख, उपप्रमुखहरु पुग्ने उहाँको भनाई थियो ।

कार्यक्रम महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो । 


विराटनगर | विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभी संस्थासँगको सहकार्यमा विराटनगर वडा नम्बर २ मा बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडानम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ गर्नुभयो । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत शिविर आयोजना गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । शिविरमा आएका ५ वर्षभन्दा मुनिका सबै बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरी उनीहरुलाई औषधि उपचार गरिन्छ ।

 त्यस्तै सरसफाईलाई प्रवद्र्धन गर्नका लागि शिविरमा सहभागी हुने सबै बालबालिकाका लागि हात धुने साबुन वितरण गरिने डा. कविता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खासगरी शिविरमा ५ वर्षमुनिका बालबालिकाको पोषण स्थिति लेखाजोखा गरी कुपोषण भएका बालबालिकाको पहिचान गरी ती बालबालिकाहरुको पोषण स्थिति सुधारका लागि पोषण सामग्रीसमेत वितरण गरिन्छ ।

कुपोषण पहिचान बालबालिकाहरुलाई दाल, चामल, गेडागुडी, अण्डा, केरा, दूधलगायतका पोषण सामग्री ३ महिनाका लागि वितरण गरिन्छ । कुपोषित बालबालिकाहरुको स्वास्थ्य अवस्था सुधार भए नभएको भनी घरमै गएर पोषणको लेखाजोखासमेत गरी उचित व्यवसथापन गर्दै बालबालिकाको बिरामी र मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभीमा आबद्ध डा. सुरेन्द्र बस्नेतले बताउनुभयो । 

यस्तै शिविरमा बालबालिका लिएर आउने आमाहरुलाई बालबालिकाको स्वास्थ्य स्याहारका लागि परामर्शसमेत दिइने उहाँले जानकारी दिनुभयो । शिविरमा उपचार हुन नसक्ने बालबालिकाहरुलाई अस्पतालसँग समन्वय गरेर सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था पनि मिलाइने डा. बस्नेतको भनाइ छ । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत यसअघि वडा नम्बर १२, १४, १७,१८ र १९ वटामा विभिन्न कार्यक्रम सञ्चालन भइसकेका छन् ।


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्थाहरुले भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

गैरसरकारी संस्था (गैसस) महासंघ मोरङको १९ औं साधारणसभा तथा नागरिक सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले समाजमा रहेका छुवाछुत, महिला हिंसा, लैंगिक विभेदलगायत समस्या न्यूनीकरणका लागि गैससहरुले उल्लेखनी कार्य गरिरहेको चर्चा गर्नुभयो । सीमा क्षेत्रमा हुने मानव बेचविखन विरुद्धको अभियानमा गैससले राम्रो काम गरेको उहाँको भनाइ थियो  । 

“अझै पनि विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन भइरहेको पाइन्छ । अझ सीमा क्षेत्रमा अहिले सबैभन्दा ठूलो समस्या लागूऔषधको ओसारपसार र सेवन रहेको छ,” उहाँले भन्नुभयो, “यसका विरुद्ध सबै मिलेर अभियान चलाउनु जरुरी छ ।” महानगरपालिकाले गर्नुपर्ने थुप्रै कामहरु गैससहरुले गरिरहेको मेयर कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र थुप्रै समस्याहरु छन् । ती समस्याको नजिक पुगेर समाधान गर्न महानगरपालिका एक्लैले सक्दैन । यस्तो अवस्थामा गैससहरुको भूमिका महत्वपूर्ण हुन्छ ।”

उहाँले विराटनगरलाई महिला हिंसामुक्त बनाउन, बालश्रममुक्त बनाउन, लैंगिक विभेदको अन्त्य गर्न, छुवाछुत, कुसंस्कार र कुरीतिविरुद्ध लड्न महानगर र गैससहरुबीच सहकार्य जरुरी उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वाञ्चल बालसेवा आश्रम, अम्बे–मुरारी सेवा केन्द्र, मानवअधिकारका लागि एकल महिला समूह मोरङ, नारी विकास संघ इटहरा र युवा विकास संस्थालाई सम्मान गरिएको थियो । उनीहरुलाई मेयर कोइरालासहित आयोजक गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, गैससका केन्द्रीय अध्यक्ष राम सुवेदी, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, गैसस महासंघका उपमहासचिव उमेश विश्वकर्मा, प्रदेश अध्यक्ष लखनलाल साह, राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश प्रमुख पवन भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.