Websoft University
Latest Post


विराटनगर, १९ पुस | कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । 

मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ । 

यस्तै निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरुको व्यवस्थित रुपले अभिलेख राख्ने र सोको विवरण मासिक, चौमासिक र वार्षिक रुपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्नु पर्ने व्यवस्था छ । यसका साथै निःशुल्क तथा आंशिक सेवा लिएका व्याक्तिहरुको विवरण देखिने गरी टास्नु पर्ने व्यवस्था पनि छ । 

‘उल्लेखित व्यवस्था बमोजिमको कार्य नगरेको र नगराईएको अवस्थामा स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा संचालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । 

सोहि सम्बन्धमा, तहाँ अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र बार्षिक रुपमा तयार गरी सम्बन्धित निकायमा पेश गरेको प्रमाणित कागजात पत्राचार गरिएको मितिबाट लागु हुने गरी सात दिन भित्र यस मन्त्रालयमा पेश गर्नु हुन आदेशानुसार अनुरोध छ,’ सबै अस्पतालालाई गरिएको पत्राचारमा उल्लेख छ । 


बिर्तामोड, पुस १८ । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ ।

महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग – अलग  स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यपारसंगै कृषि क्षेत्रको उत्थानका लागि समेत कृषि उत्पादनलाई प्रर्वद्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाई छ ।

झापाकै ठूलो बजारका रुपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रवर्धन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।

प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।

विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी    दिए ।

महोत्सवमा चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुका स्टल रहने महासचिव कुशल खतिवडाले बताए ।

महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पाकिङको व्यवस्था हुने संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।

पूर्वी नेपालको व्यापारलाई अन्तर्राष्टियस्तरबाट प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव बिर्तामोड–५ धर्मकाँटा रोड, मंगल एकता टोलको खाली जमिनमा सञ्चालन हुने संघका कोषाध्यक्ष युवारज निरौलाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजकका पदाधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेल समिति संयोजक उमेश डालमिया, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई लगायत पत्रकार सम्मेलनमा सहभागी थिए । महोत्सवको दुई लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  


विराटनगर  पुस १८ गते | विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । 

कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए । पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंले माला लगाएर सम्मानपत्र र जनही ५–५ हजार नगद प्रदान गरे ।

पुस्तकालयले संस्थापक अध्यक्षको स्मृति दिवस पारेर हरेक वर्ष सामुदायिक विद्यालयका उत्कृष्ट छात्राहरुलाई नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रविधिको बढ्दो प्रयोगसँगै पठन संस्कृतिमा कमी आएको बताए । मेयर कोइरालाले पुस्तकलाई प्रविधिसँग जोड्नु आवश्यक रहेको औंल्याए|

 उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईं, षडानन्द प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, साहित्यकार सरला चापागाईं, समाजसेवी इन्दिरा रिजाल, आयोजक संस्थाका उपाध्यक्ष रमेश चापागाईं, सचिव माधव अत्री, समाजसेवी भवानीप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.