विराटनगर २०८३,जेठ २० गते । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई भूमि व्यवस्था विभागमा जान लागेका योगेन्द्रप्रसाद दुलाललाई औपचारिक समारोहका बीच बिदाइ गरेको छ । महानगर परिसरमा बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखा–महाशाखाका प्रमुखहरूले दुलालको कार्यकालको प्रशंसा गर्दै सम्मानपूर्वक बिदाइ गरेका हुन् ।
बिदाइ समारोहमा महानगरका मेयर नागेश कोइरालाले दुलालले चुनौतीपूर्ण परिस्थितिमा समेत प्रशासनिक नेतृत्व सम्हाल्दै महानगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको बताए । उनले दुलालले कार्यभार सम्हालेको समय देशव्यापी आन्दोलन तथा त्यसबाट सिर्जित असहज अवस्थाका कारण स्थानीय तहहरू प्रभावित भएको स्मरण गर्दै विराटनगर महानगर पनि त्यसको असरबाट अछुतो नरहेको उल्लेख गरे ।
‘कठिन परिस्थितिमा पनि प्रशासनिक संयमता, समन्वय क्षमता र निर्णय गर्ने दक्षताका कारण महानगरले चाँडै आफ्नो नियमित कार्यसम्पादनलाई गति दिन सफल भयो,’ मेयर कोइरालाले भने, ‘दुलालको नेतृत्वले कर्मचारी संयन्त्रलाई एकताबद्ध राख्न र सेवा प्रवाहलाई निरन्तरता दिन उल्लेखनीय भूमिका खेलेको छ ।’
उपमेयर शिल्पा निराला कार्कीले पनि दुलालको कार्यशैली, इमान्दारिता र समन्वयकारी भूमिकाको प्रशंसा गर्दै महानगरको संस्थागत सुदृढीकरणमा उनले पु¥याएको योगदान स्मरणीय रहने बताइन् । उनका अनुसार स्थानीय सरकारको प्रभावकारिता जनप्रतिनिधि र प्रशासनबीचको सहकार्यमा निर्भर रहने भएकाले दुलालले त्यस सम्बन्धलाई अझ मजबुत बनाउन योगदान दिएका थिए ।
कार्यक्रममा सबै वडाध्यक्षका तर्फबाट धारणा राख्दै वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले दुलाललाई कर्मठ, अनुशासित र परिणाममुखी प्रशासकका रूपमा चित्रित गरे । उनले महानगरको प्रशासनिक सुधार, कर्मचारी व्यवस्थापन तथा विकास आयोजनाको कार्यान्वयनमा दुलालको भूमिका उल्लेखनीय रहेको बताए ।
‘जहाँ रहे पनि विराटनगर महानगरले उहाँलाई सम्झिरहनेछ,’ बस्नेतले भने, ‘उहाँले प्रशासनिक नेतृत्वमार्फत संस्थालाई सही दिशामा अघि बढाउन महत्वपूर्ण योगदान गर्नुभएको छ ।’
२०८२ भदौ ४ गते विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हालेका दुलालले आफ्नो कार्यकाललाई स्मरण गर्दै विराटनगरको अनुभजीवनकै महत्वपूर्णअध्याय बनेको बताए । उनले यहाँ जनप्रतिनिधि र कर्मचारीबीच रहेको सहकार्य, विश्वास र आत्मीय सम्बन्ध अन्यत्र कमै देख्न पाइने दाबी गरे ।
‘स्थानीय सरकार सफल हुन जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध पारदर्शी, विश्वासपूर्ण र सहकार्यमा आधारित हुनुपर्छ,’ उनले भने, ‘विराटनगरमा मैले त्यही वातावरण पाएँ, जसले काम गर्न थप सहज बनायो ।’
दुलालले महानगरमा रहँदा प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी जिम्मेवारीमा पनि स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाले सहजीकरण गरेको कार्यक्रममा महाशाखा प्रमुख, शाखा प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूले खादा, माला र अविर लगाएर दुलाललाई सम्मानपूर्वक बिदाइ गरेका थिए । कार्यक्रममा सहभागीहरूले उनको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच, दुलालको सरुवापछि विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी झापा निवासी विजयकुमार शर्माले सम्हाल्ने भएका छन् ।

Post a Comment