Websoft University

बिर्तामोड रोजगार मेलामार्फत १ सय ६४ जनालाई रोजगारी


झापा, असार १ गते । सुरेन्द्र भण्डारी, बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’ मार्फत एक सय ६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।


 रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले सञ्चालन गरिएको मेलामा एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको रोजगार मेलाको समापन समारोहमा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिनुभएको हो ।

उहाँका अनुसार मेलाको अवधिभर दुई हजार आठ सय ७१ जनाले अवलोकन गरेका थिए । विभिन्न क्षेत्रका रोजगारदाता संस्थामा काम गर्न इच्छुक एक हजार ७६ जनाले आवेदन दिएका छन् । तीमध्ये प्रारम्भिक चरणमै एक सय ६४ जनाले रोजगारी प्राप्त गरेका छन् भने बाँकी आवेदकलाई उनीहरूको योग्यता र सीपअनुसार उपयुक्त रोजगारीमा आबद्ध गराउन सम्बन्धित रोजगारदाता संस्थासँग समन्वय र सहजीकरणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

मेलामा विभिन्न क्षेत्रका २५ वटा रोजगारदाता संघ–संस्थाले सहभागिता जनाएका थिए । ती संस्थाले आफ्ना आवश्यकताअनुसार जनशक्ति माग गर्दै प्रत्यक्ष अन्तर्वार्ता तथा परामर्शसमेत प्रदान गरेका थिए । रोजगारको खोजीमा रहेका युवाले आफूलाई उपयुक्त रोजगारीको अवसरबारे जानकारी लिनुका साथै आवेदन दिने अवसर प्राप्त गरेका थिए ।

 समापन समारोहलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने माध्यमका रूपमा रोजगार मेला प्रभावकारी बनेको बताउनुभयो ।

उहाँले मेलामा सहभागी रोजगारदाता संस्था, उद्योगी तथा व्यवसायीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । ‘रोजगार सिर्जना अहिलेको प्रमुख आवश्यकता हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्र उपलब्ध अवसरको पहिचान गर्दै युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने प्रयासलाई निरन्तरता दिनेछ,’ उहाँले भन्नुभयो ।

नगरप्रमुख प्रसाईँले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि क्रमशः सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । छोटो समयको तयारीका बाबजुद पनि रोजगार मेलाले अपेक्षाकृत सफलता हासिल गरेको उल्लेख गर्दै उहाँले यसलाई नगरपालिकाको महत्वपूर्ण कार्यक्रमका रूपमा विकास गरिने धारणा राख्नुभयो ।

त्यसैगरी बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले मेलामार्फत आवेदन दिएका बेरोजगार युवालाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग समन्वय गरी रोजगारी उपलब्ध गराउन संघले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रोजगार मेलाले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै स्थानीय तहको बजेट तथा कार्यक्रममा यस्ता गतिविधिलाई प्राथमिकताका साथ समावेश गर्न नगरपालिकासँग आग्रह गर्नुभयो । ‘युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सकिए वैदेशिक पलायन न्यूनीकरणमा समेत सहयोग पुग्नेछ,’ उहाँले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको जानकारी दिँदै प्राप्त अनुभवका आधारमा आगामी दिनमा यसलाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभयो ।

उहाँले स्थानीय तहको दायित्व केवल पूर्वाधार निर्माणमा मात्र सीमित नरही नागरिकको आर्थिक सशक्तीकरण र रोजगारी प्रवद्र्धनमा समेत केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यलाई थप विस्तार गर्दै स्थानीय स्तरमै रोजगारका अवसर सिर्जना गर्ने योजनामा काम गरिरहेको उहाँको भनाइ थियो ।

रोजगार मेलाको दुवै दिन उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । अन्तरक्रियामा स्थानीय श्रम बजारको अवस्था, दक्ष जनशक्तिको आवश्यकता, सीप विकास तथा रोजगार प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ ।

स्थानीय युवालाई रोजगारका अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यो मेला बिर्तामोड नगरपालिकाको पहिलो प्रयास भए पनि यसले सकारात्मक नतिजा दिएको सरोकारवालाले बताएका छन् । रोजगार खोज्ने युवा र रोजगारदाता संस्थालाई एउटै थलोमा ल्याएर प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्न सफल भएको भन्दै सहभागीले आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.