विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् ।
सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१) बमोजिम उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो । उनको कार्यकाल २०८१ जेठ १३ गतेदेखि लागू हुने गरी ४ वर्षको रहनेछ ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा घोष लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन् । कराँतेका अनुभवी खेलाडी समेत रहेका उनी खेलकुदको विकास र विस्तारमा क्रियाशील व्यक्तित्व हुन् ।
नवनियुक्त सदस्य सचिव घोषलाई सामाजिक विकास मन्त्री महतोले बधाई दिँदै उनको कार्यकालमा प्रदेशको खेलकुद क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।

Post a Comment