विराटनगर बैशाख ३ गते। विज्ञान संकायको पठनपाठनमा प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान बनाएको विराटनगरस्थित अरनीको कलेजमा कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूको ठूलो आकर्षण देखिएको छ ।
कलेजले आज लिएको प्रवेश परीक्षामा सीमित कोटाका लागि उपलब्ध क्षमताभन्दा झण्डै तेब्बर विद्यार्थी सहभागी भएका छन् ।
कलेजका प्रिन्सिपल राजेश कार्कीका अनुसार कक्षा ११ विज्ञान संकायमा भर्नाका लागि कूल २ हजार ७ सय विद्यार्थीले आवेदन फारम भरेकाथिए । तीमध्ये शनिबार सम्पन्न प्रवेश परीक्षामा २ हजार ४ सय ७७ जना विद्यार्थी सहभागी भएका छन् । कलेजले यस वर्षका लागि १ हजार १ सय कोटा निर्धारण गरेको छ, जसमा बिहान र दिउँसो गरी दुई सिफ्टमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।
विज्ञान संकायको अध्यापनमा अब्बल मानिने यस कलेजका विद्यार्थीहरूले प्रत्येक वर्ष चिकित्सा ९मेडिकल० र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । ‘यहाँ अध्ययनरत विद्यार्थीहरूले हरेक वर्ष ठूलो संख्यामा मेडिकल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन्,’ प्रिन्सिपल कार्कीले भने, ‘यही गुणस्तरीय नतिजा र शैक्षिक वातावरणका कारण कलेजप्रति विद्यार्थी र अभिभावकको विश्वास बढेको हो ।’
विराटनगरमा रहेर लामो समयदेखि विज्ञान शिक्षामा विशेषज्ञता हासिल गरेको यस कलेजले विद्यार्थीको चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार र जनशक्तिमा समेत विशेष ध्यान दिएको जनाएको छ । प्रवेश परीक्षाको नतिजा र भर्ना प्रक्रिया छिट्टै अगाडि बढाइने कलेज प्रशासनले उल्लेख गरेको छ ।

Post a Comment