काठमाडौं २०८३ साल बैशाख १ गते | नेपाली भाषा, साहित्य तथा स्रष्टाहरूको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले “राष्ट्रिय नेपाली साहित्य अवार्ड” आयोजना गरिने भएको छ। अवार्डको आयोजना रेस्पोन्सिभ मिडिया प्रा.लि. ले गर्ने भएको हो।
आयोजक संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने लक्ष्य राखिएको जनाएको छ। साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभा पहिचान र पुराना स्रष्टाहरूको योगदानको कदर गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ।
अवार्डमा कविता, कथा, उपन्यास, गजल, निबन्ध, समालोचना लगायत विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथै, जीवनभर साहित्यिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” समेत प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार अवार्डका लागि आवेदन तथा मनोनयन प्रक्रिया चाँडै सार्वजनिक गरिनेछ। छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन विज्ञहरूको निर्णायक मण्डल गठन गरिने जानकारी दिइएको छ।
यस अवार्डले नेपाली साहित्यको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम काठमाडौंमा भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजक रेस्पोन्सिभ मिडिया प्रा.लि.ले जनाएको छ।

Post a Comment