विराटनगर मंसिर २८ गते । माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा ‘नानी बाई रो मायरो’ नामक तीन दिने भव्य धार्मिक कथा–प्रवचन उत्सव हुने भएको छ ।
कार्यक्रममा गोवत्स श्रीबिठ्ठलजी महाराजबाट रसिलो कथा, भजन–कीर्तन र मारवाडी भाषामा आध्यात्मिक प्रवचन हुने आयोजक माहेश्वरी महिला मञ्चले जानकारी दिएको छ ।
नानी बाई रो मायरो राजस्थान ९मारवाड क्षेत्र०को लोक–भक्ति कथामा आधारित एक अत्यन्त प्रसिद्ध भक्तिकथा हो । यो कथा नानी बाई नामकी भक्त र भगवान श्रीकृष्णप्रतिको उनको अटुट श्रद्धा वरिपरि घुमेको छ ।
कथाअनुसार, नानी बाई एक गरिब तर परम कृष्णभक्त थिइन् । एक समय समाजिक र पारिवारिक कठिनाइका कारण उनलाई मायरो अर्थात् माइतीबाट सहयोग आवश्यक पर्छ । तर मानवीय सहयोग सम्भव नदेखिएपछि उनले पूर्ण रूपमा भगवान श्रीकृष्णमा आश्रय लिन्छिन् । नारी भक्ति र समर्पणको अनुपम उदाहरण नै नानी बाई रो मायरोको मुल कथासार मानिन्छ ।
आयोजकका अनुसार, तीनदिने प्रवचन सुरु हुनुभन्दा अघि मंगलबार बिहान शोभायात्रा निस्किने छ । कथा प्रवचनको कार्यक्रम मंगलबारदेखि बिहीबारसम्म हरेक दिन दिनको २ बजेदेखि ६ बजेसम्म अतिथि सदनको राधा मण्डपमा हुने आयोजक माहेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजुले जानकारी दिइन् ।

Post a Comment