विराटनगर असार ५ गते । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम सुरु गरेको छ । संघले असार ४ गतेदेखि १० गतेसम्म सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाउन थालेको हो ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बुधबार विराटनगरस्थित कोशी अस्पतालको बच्चा विभाग र पोषण विभागमा उपचाररत विरामी र तिनका आफन्तहरूलाई फलफूल वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमको संयोजक संघका थोक उपाध्यक्ष जितु रजक रहेका थिए । फलफूल वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रदिप कुमार दास, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू र कोशी अस्पतालका चिकित्सकहरूको टोलीको सहभागिता रहेको थियो ।
संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले स्थापना दिवसलाई औपचारिकता मात्र नभई समाजसँगको सम्बन्धलाई बलियो बनाउने अवसरको रूपमा लिएको बताए । ‘औषधी व्यवसाय क्षेत्र सामाजिक उत्तरदायित्वबाट अछुतो रहन सक्दैन । हामीले समाजका संवेदनशील क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम अघि बढाएका छौँ,’ अध्यक्ष ढकालले भने ।
संघले घोषणा गरेअनुसार सप्ताहभर विभिन्न सामाजिक, स्वास्थ्यसम्बन्धी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध तथा मनोदीपक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रमको संयोजक महासचिव अरुण कुमार ठाकुर ब्राह्मण रहेका छन् ।
असार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण गरिनेछ। कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी रहेका छन् । असार ७ गते विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरिनेछ, जसको संयोजक सचिव सरिता श्रेष्ठ चौधरी हुन् ।
असार ८ गते संघको भवनमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूलाई सम्मान गरिनेछ । असार ९ गते हस्पिटल चोक, विराटनगरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । संयोजनमा कोषाध्यक्ष मनोज कुमार मण्डल र थोक सदस्य राजेश मण्डल रहनेछन् ।
असार १० गते स्थापना दिवसको मुख्य दिन बिहान ७ बजे हस्पिटल चोकबाट प्रभातफेरी निकालिनेछ । ९ बजे संघको भवनमा झण्डोत्तोलन तथा औपचारिक समापन समारोह आयोजना हुनेछ । साँझ दीप प्रज्वलन कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम समापन गरिनेछ, जसको संयोजन खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तवले गर्नेछन् ।
अध्यक्ष ढकालका अनुसार संघले स्थापनाको ५२ वर्षमा प्रवेश गर्दै औषधी व्यवसायीहरूको हक, हितका लागि काम गर्दै आएका छन् भने सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिएको छ । ‘समाजमा हाम्रो भूमिका केवल औषधि आपूर्ति गर्नेमा सीमित छैन, स्वास्थ्य सचेतना फैलाउने र जिम्मेवार व्यवसाय सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।
Post a Comment