Websoft University

टी–१० क्रिकेट प्रतियोगिता सुरु- प्यान्थर्स र एनबीएससीको विजयी सुरूवात


विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ ।

विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलको पहिलो खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स र दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै विजयी भएको हो । जितसँगै दुवै टिमले समान २–२ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट  गुमाई ८१ रन बनाएको हो । प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले ११ बलमा ३२ रन बनाए । उनले ४ छक्का र १ चौका प्रहार गरे । तुल बहादुर थापाले ८ बलमा १५ रन पारी खेल्दा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए ।

वाइआरसीसीका अभिषेक पाठकले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । हेमन्त धमला र विपिन खत्रीले समान २ –२ विकेट लिए ।

 प्यान्थर्सले दिएको ८२ रनको विजय लक्ष्य पछ्याएको वाइआरसीसीले ७ ओभरमा ८ विकेट गुमाइ ७५ रन मात्रै बनायो । वाइआरसिसीका ओपन देव खनालले ७ बलमा २० रन बनाए ।उनले २ छक्का र २ चौका हिर्काए । अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए । उनले तीन छक्का र १ चौका प्रहार गरे । विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

 प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले घातक बलिङ गरे । उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लेर अफ म्याच घोषित भए । साहब आलम र आयुष तिम्सिनाले समान १ –१ विकेट लिए ।

 एनबीएससीसँग फुलबारी पराजित

सोही दिन भएको दोस्रो खेलमा एनबीएससी लायन्स क्लबले फुलबारी क्रिकेट क्बललाई ५० रनले हराउँदै विजयी भएको हो ।

एनबीएससी लायन्सले निर्धातिर १० ओभरमा १ विकेट गुमाइ १५७ रन बनाएको हो । जसमा राहुल रोमाल्डले अर्धसतक कटाए । उनले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए । उनले ७ छक्का र २ चौका हिर्काए ।

फुलबारीका एमडीले १ विकेट लिए ।

एनबीएससीले दिएको १५८ रनको विजय लक्ष्य पछ्याएको फुलबारीले निर्धारित १० ओभरमा ७ विकेट गुमाइ  १०७ रन मात्रै बनायो । जसमा राजेस सिंहले १४ बलमा ४१ रन बनाए । दिपक राज जोशीले १८ बलमा २३ रन पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए ।

एनबीएससका बलर फिरदोज अन्सारी, सन्तोष कार्की र दिपेश कन्डेलले समान २–२ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सन्तोष कार्की घोषित भए ।

 दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरेको छ ।

विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।

प्रतियोगिता सञ्चालनकालागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहने र ती हरेक क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाउने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.