Websoft University

गृहिणीका समस्या बुझ्दै महानगर-मदिरा नियन्त्रण र रोजगार उपलब्ध गराउन गृहिणीहरूको माग


विराटनगर | विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ ।‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । 

अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको भन्दै कार्कीले संविधान प्रदत सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराएको बताइन् । मेयर नागेश कोइरालाले आफ्ना समस्याबारे खुलस्त राख्न आग्रह गरेका थिए । 

उनले केही समस्या परे सिधै महानगरमा आउन अनुरोध गरे । विराटनगरको सरसफाईमा गृहिणीहरूको अहम् भूमिका हुने चर्चा गर्दै मेयर कोइरालाले घरआँगन मात्रै नभएर आफ्नो घर अगाडिको सडकसमेत सफा राख्न आग्रह गरे । “तपाईंहरूले आफ्नो घर आँगनसँगै अगाडिको सडक पनि सफा राख्नुहोस्,” उनले भने, “सबै घरको अगाडि सफा भए समग्र विराटनगर सफा हुन्छ ।”

मेयर र उपमेयरको उपस्थितिमा विराटनगरका सबै वडाका गृहिणीहरूलाई बोलाएर उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् । यसरी कार्यक्रम गर्दा गृहिणीहरूमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने थपलियाको भनाइ थियो । न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेको समेत उपस्थितिमा भएको कार्यक्रमका सहभागीहरूले मदिरा नियन्त्रण र रोजगारी दिन प्रमुखता साथ उठाएका थिए । मदिरा सेवनले गर्दा श्रीमान र ससुराले घरमा दुःख दिने गरेको गुनासो पोखेका थिए ।

विराटनगर वडा नम्बर १८ की ६५ वर्षीया पार्वतीदेवी यादवले मदिराका कारण गृहिणी महिलाहरूले समस्या झेल्नुपरेको दुखेसो पोखिन् । उनले मदिराको बिक्रीवितरण रोक्नुपर्नेमा जोड दिइन् । विराटनगर–१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घरव्यवहार चलाउन समस्या भएकाले जागिर मागिन् । 

बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत अपहेलित हुनुपरेको उनको भनाइ थियो । विराटनगर–१८ की शर्मिला साहले सडक बनाइदिन आग्रह गरिन् । उनले सडक नबन्दा छोराछोरीलाई विद्यालय जान निकै समस्या भएको गुनासो पाखिन् । विराटनगर–१२ की सुशीलादेवी राजवंशीले विभिन्न तालिम सञ्चालन गरेर गृहिणीहरूलाई स्वरोजगार बनाउन आग्रह गरिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.