Websoft University

आगलागी नियन्त्रणको पूर्वतयारी-विराटनगरस्थित सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन


विराटनगर | विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगरस्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ ।

महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले शुक्रबार बिहान दुईवटा दमकलबाट परीक्षण गरेको हो । जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो । महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको मेयर कोइरालाले बताउनुभयो ।

यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताउनुभयो । उहाँले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाले बताउनुभयो ।

 जसअन्तर्गत पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ भने अन्य स्थानमा पनि जडान गर्ने तयारी भइरहेको मेयर कोइरालाको भनाइ छ । “अन्य स्थानमा पनि डिप बोरिङ जडान गर्ने योजना छ,” मेयर कोइरालाले भन्नुभयो, “कसरी विराटनगरवासीलाई राहत पुग्छ भनेर हामीले काम गरिरहेका छौं । सनसारीमाईस्थानमा जडान गरिएको डिप बोरिङबाट बजार र आसपासको क्षेत्रमा आगलागी भइहाले तत्कालै नियन्त्रण गर्न सहज हुनेछ ।”

अब बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उपमेयर शिल्पा निराला कार्कीले विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने बताउनुभयो । डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने वारुणयन्त्रको समेत जम्मेवारी सम्हालिरहनुभएका महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताउनुभयो । 

पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको जानकारी दिनुभयो । ठाउँ–ठाउँमा डिप बोरिङ जडान गरी आगलागी नियन्त्रणको पूर्वतयारी गरेर महानगरले निकै नै प्रशंसनीय कार्य गरेको स्थानीय सहदेव यादवले प्रतिक्रिया दिनुभयो । हेर्दा र सुन्दा सामान्य लागे पनि विराटनगरवासीका लागि महानगरले धेरै नै महत्वपूर्ण कार्य गरेको उहाँको भनाइ थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.