Websoft University

विराटनगर महानगर क्षेत्रभित्र फागुन १३ देखि दादुरा–रुबेलाको खोप अभियान


विराटनगर | विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ । 

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताउनुभयो । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिनुभयो । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।

खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताउनुभयो । उहाँका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गर्नुभयो । अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताउनुभयो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताउनुभयो । 

“यो अभियानलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारी लागेर मात्रै हुँदैन,” उहाँले भन्नुभयो, “यसमा पत्रकारसहित समाजका सबै व्यक्तिहरू लाग्नुपर्छ । विशेष गरी आफ्ना बालबालिकाहरूलाई खोप लगाउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह पनि गर्दछु ।” सो अवसरमा वडाध्यक्षहरू तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, सन्तोष न्यौपोने, अर्जुन गिरी र जितेन्द्रकुमार साहले वडास्तरबाट पनि खोप अभियान सफल बनाउन व्यापक तयारी गरेको बताउनुभयो । नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.