Websoft University

विराटनगरलाई सफा र सुन्दर बनाउन हरेक महानगरवासीले प्रण गर्नुपर्छ - मेयर कोइराला


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक महानगरवासीले विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन इमान्दारीपूर्वक प्रण गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर वडा नम्बर ४ ले शनिबार आयोजना गरेको वृहत नगर सरसफाई साप्ताहिक अभियानलाई सम्बोधन गर्दै कोइरालाले एक दिन सफा गर्ने र अर्को दिन फेरि फोहोर गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म विराटनगरलाई सफा, सुन्दर, हराभरा र व्यवस्थित बनाउन नसकिने बताउनुभयो । 

उहाँले सबै विराटनगरवासीको सामूहिक प्रयासले मात्रै विराटनगरलाई सफा र सुन्दर सहरका रुपमा स्थापित गर्न सकिने उल्लेख गर्नुभयो । हरेक नागरिकले आफ्नो घर अगाडि सफा राख्ने र दुईवटा गमलामा फूल र विरुवा रोपिदिने हो भने विराटनगर साँच्चिकै सफा, सुन्दर र हराभरा हुने उहाँको भनाइ थियो । “महानगरले एकदिन आएर नहर सफा गरिदेला तर सधैं आएर सफा गर्न त सक्दैन । महानगरले हेर्नुपर्ने क्षेत्र धेरै छ,” उहाँले भन्नुभयो, “त्यसो भएकाले अब स्थानीयवासीले नहरमा फोहोर नफ्याँक्ने र कसैले फोहोर फ्यालेमा त्यसलाई कारबाहीको दायरामा ल्याउने र सामाजिक बहिष्कारसमेत गरेमा कसैले पनि फोहोरफ्याँक्ने आँट गर्दैन ।”

मेयर कोइरालासहित वडा नम्बर ४ का अध्यक्ष जितन थापा, ३ का वासुबहादुर बस्नेत, महानगरको सरसफाई तथा वातावरण शाखा प्रमुख पुनम दाहाल, नगर प्रहरीका निरीक्षक राजन पौडेललगायतको उपस्थितिमा भएको सफाई अभियानमा विभिन्न पार्टी आबद्ध युवा, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थालगायतले सामूहिक रुपमा नगरको सफाई गरेका थिए । हरेक शनिबार बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने अभियानले नगरलाई सफा राख्नुका साथै अन्य क्षेत्रको सफाइमा महानगरवासीलाई जागृत गराउने वडाध्यक्ष जितन थापाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.