Websoft University

विकासलाई गति दिन मेयर कोइरालाको सक्रियता-जग्गा विवादले रोकिएका विकासको अनुगमन गरी विवाद समाधान


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्बन्धित स्थानमै पुगेर विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने कार्य अगाडि बढाउनु भएको छ ।

महानगरले निर्माण गरिरहेका सडक र नालामा जग्गा विवाद देखिएका स्थानमा पुगेर मेयर कोइरालाले सम्बन्धित व्यक्तिसित छलफल गरी समाधान निकाल्ने कार्य अगाडि बढाउनुभएको हो । महानगरको योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापासहितको टोली लिएर मेयर कोइराला सोमबार वडा नम्बर १३ र १४ मा सञ्चालित विभिन्न योजनाको अनुगमन गर्नुभयो । जग्गा विवादले सडक र नाला निर्माण रोकिएको पटक–पटक गुनासो आएपछि मेयर कोइराला सम्बन्धित स्थानमा पुगेर विवाद समाधान गरी विकासको कामलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नुभएको छ ।

उहाँले स्थानीयसित छलफल गरी विवादका कारण रोकिएका योजना अगाडि बढाउने वातावरण बनाउनुभएको हो । मेयर कोइरालाले विकास सबैका लागि भएकाले विकासका नाममा कसैलाई पनि मार्का पर्न नहुने बताउनुभयो । उहाँले नाला बनाउँदा दुवैतर्फका जग्गाधनीलाई चित्त बुझ्ने गरी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “विकासले गति नलिनुको कारण जग्गा विवाद पनि एक हो । नाला पनि रहेको स्थानमा एकजनाले भत्काउनुपर्ने पर्खाल भत्काएन भने त्यो योजना वर्षौंसम्म पनि लम्बिन सक्छ,” उहाँले भन्नुभयो, “अब त्यसो नहोस् । दुवैतिरका जग्गाधनीलाई राखेर कसैलाई पनि अन्याय नहुने गरी महानगरले विकासको कामलाई तीव्रता दिन चाहेको छ । यसमा स्थानीयको पनि सहयोग हुनुपर्छ ।”

मेयर कोइरालाको उपस्थितिमा वडा नम्बर १३ को भेटनरी चोक उत्तरमा सडक निर्माणका क्रममा देखिएको विवाद समाधान भएको छ । मेयर कोइराला आफैं उपस्थित भएर विवाद समाधान गर्न अग्रसर भएको भन्दै स्थानीय हर्षित भएका थिए । वर्षौंदेखि डुबान समस्या झेल्दै आएका स्थानीयले मेयर कोइरालालाई खादा लगाएर स्वागतसमेत गरेका थिए । उनीहरूले अब भने समस्या समाधान हुने आशा पलाएको प्रतिक्रिया दिए ।

त्यस्तै वडा नम्बर १४ को भगवतीमार्गमा पनि जग्गा विवादका कारण नाला निर्माण हुन सकेको थिएन । सम्बन्धित वडाका अध्यक्ष सूर्यनारायण महतो र इन्जिनियर थापालाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले सो स्थानको विवाद पनि समाधान गर्नुभएको छ । महानगरको १ करोड आन्तरिक स्रोतबाट भगवती मार्गमा सडक निर्माण भइरहेको छ । विवादलाई लम्ब्याउँदा विकासले गति नलिने भएका कारण आफैं उपस्थित भएर समस्या समाधान गरेको मेयर कोइरालाको भनाइ थियो ।

महानगरका विभिन्न वडामा करिब १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालनमा रहेका छन् । त्यसबाहेक वडास्तरका साना योजनाबाट नाला, सडक र अन्य भौतिक संरचना धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । सानातिना विवादमा नअल्झी विकासमा सहजीकरण गर्न स्थानीयलाई मेयर कोइरालाले आग्रह पनि गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.