Websoft University

दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरले काम गरिरहेको छ - मेयर कोइराला


विराटनगर | विराटनगर महानगरपालिकाकी मेयर नागेश कोइरालाले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरू अगाडि बढाइरहेको बताउनुभएको छ ।

विराटनगर–१४ मा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कोइरालाले दक्षिणी क्षेत्रका सबैजसो वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजनाहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले ५ करोड बढीको लागतमा विराटनगर–१४ स्थित रानीपोखरी, ६ बढीको लगानीमा मण्ठापोखरी निर्माण भइरहेको सुनाउनुभयो । मेयर कोइरालाले दुवै पोखरी पार्कसहितको हुने उल्लेख गर्नुभयो । उहाँले विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरी निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

 नेपाली सेनासित मिलेर विराटराजाको प्राचीन दरबार संग्राहालय सञ्चालनमा आउनुका साथै विराट राजाको दरबार क्षेत्रको सरसफाई गरी पर्खालमा रंग लगाउने कार्य भइरहेको बताउनुभयो । त्यस्तै हरेक वडामा १ करोडभन्दा बढीका ठूला योजना पनि सञ्चालनमा रहेको उहाँको भनाइ थियो । विराटनगर १२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम नाला, ३ करोड ६० लाखको लागतमा विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक, १४ नम्बर वडाको भगवती मार्ग, १५ नम्बरको सुँडी टोलस्थित नाला र सडक, १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्वको सडक, १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, र १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तरको सडक पनि धमाधम निर्माण भइरहेको मेयर कोइरालाले बताउनुभयो । निर्माण भइरहेका सबै सडकको लागत १ करोड रहेको कोइरालाको भनाइ थियो । त्यस्तै विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलमा कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाइसकेको उहाँले बताउनुभयो ।

मेयर कोइरालाले वडा नम्बर १५ मा रहेको डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिक्स लेन सडक कार्यालयलाई पत्रचार गरिसकेको बताउनुभयो ।

मेयर कोइरालाले भौतिक विकाससँगै मानव विकासमा पनि महानगरले कार्य गरिरहेको सुनाउनुभयो । उहाँले विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउन विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःल्शुल्क आँखा शिविर जारी रहेको बताउनुभयो । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिने उहाँको भनाइ थियो । मेयर कोइरालाले सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्ष ८७ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा माघ २८ गतेसम्म २७ करोड ५६ लाख ५० हजार राजस्व संकलन भएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष ६४ करोड ५ लाख राजस्व संकलन भएकामा यस वर्ष आर्थिकमन्दीका कारण राजस्वको लक्ष्य पूरा हुने अवस्था क्षिण हुँदै गएको टिप्पणी गर्नुभयो । 

गत वर्ष ७३ प्रतिशत बेरुजु फस्छ्र्यौट गरेको, रेडक्रसमार्फत विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको, प्रसूतिका लागि र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको सुनाउनुभयो । फुटपाथ नियन्त्रण, सरसफाई, सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक, १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, विद्युत र केवल–नेटको तार व्यवस्थापन गरेको मेयर कोइरालाले बताउनुभयो । उहाँले विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गर्नुभयो । मेयर कोइरालाले आफू आफ्नो कार्यकालको हालसम्म १४ किलोमिटर कालोपत्रे, ३९ किलोमिटर ग्राभेल र १४१ वटा कल्भर्ट निर्माण गरेको उल्लेख गर्नुभयो ।

मेयर कोइरालाले १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, २ करोड ११ लाखको लागतमा बाल उद्यान, ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन धमाधम निर्माण भइरहेको बताउनुभयो । करिब २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको जानकारी दिनुभयो । 

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरसित भएको सीमित स्रोतले महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि लागिपरेको बताउनुभयो । उहाँले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन स्थानीयको पनि खबरदारी जरुरी रहेको औंल्याउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सार्वजनिक सुनुवाईमा उठेका विषयलाई जनप्रतिनिधि र कर्मचारी मिलेर सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १३, सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेलसहित सम्बन्धित शाखा र महाशाखा प्रमुखहरूले

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको उत्तर दिनुभएको थियो ।

महानगरले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेकोमा स्थानीयद्वारा खुसी व्यक्त

विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरू अगाडि बढाएकोमा दक्षिण भेगका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

विराटनगर–१४ मा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरूले विकासका केही ठूला परियोजनाका कारण दक्षिणी क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई महानगरप्रति आशा जगाएको बताए । विराटनगर वडा नम्बर १० देखि १८ नम्बर वडालाई समेटेर आयोजना गरिएको सार्वजनिक सुनुवाईमा विराटनगर–१५ का मित्रलाल गिरीले सडक बत्ती, भौतिक संरचनाको विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा महानगरले गरिरहेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । विगतमा सौतेनी व्यवहार हुँदै आएको दक्षिणी क्षेत्रका बासिन्दालाई पछिल्लो समय केही विकासका योजनाले आशा जगाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा वडा नम्बर १३ का रामप्रसाद दुलालले रोडशेषदेखि दक्षिण विकासमा धेरै पछि परेको भन्दै प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । विराटनगर–१५ का संजीव सुब्बा, १६ का किशोरकुमार मण्डल, १५ का अमरबहादुर बस्नेत, १३ की पार्वती राम, अजयकुमार साह, भूपेन्द्र यादव, महेन्द्रप्रसाद मण्डल, विकास मण्डललगायतले रोजगारी, भौतिक पूर्वाधार, लागूऔषध नियन्त्रण, सडक बत्ती, डुबान, सार्वजनिक सौचालय, रिङरोड, गुणस्तरहीन भौतिक संरचनाको निर्माण, स्वास्थ्य, शिक्ष, कृषिलगायतका विषयमा आफ्ना जिज्ञासासहित सुझाव राख्नुभएको थियो । उहाँहरुले आगामी बजेटमा दक्षिणी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आग्रहसमेत गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.