Websoft University

डकुवामा तयार भयो प्राङ्गारिक मल र सिलिन्डरमा बायोग्यास भर्ने प्लान्ट


विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा ठूलो बायोग्यास प्लान्ट तयार भएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले दश बिघा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार गरेको हो । प्लान्टबाट उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजार पठाइन्छ । प्राङ्गरिक मल किसानले उपयोग गरिरहेका छन् । 

खेतीको समयमा सधै किसानले रासायीनिक मलको अभाव झेलिरहेका हुन्छन् । रासायनिक मलको अभाव झेलिरहने किसानलाई सहजै मल उपलब्ध गराउने उदेश्यसहित प्राङ्गारिक मल उत्पादन गरिरहेको बायोग्यास प्लान्टका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । 

पहिलो चरणमा प्लान्टले प्राङ्गारिक मललाई पाँच केजीको प्याक बनाएर बजारमा पठाएको छ । २० र ५० किलोको प्याक पनि बजारमा ल्याउने तयारीमा छ । जीवन विकास ब्रान्डको पाँच किलोको प्राङ्गारिक मल प्रति प्याकेट १५० रुपैयाँमा बिक्री हुन्छ । प्लान्टबाट निस्किएको ठोस पदार्थबाट प्राङ्गारिक मल बनाएको जीवन विकासले झोलबाट प्राङ्गारिक झोल मल उत्पादन गर्ने तयारी गरिरहेको छ । 

झोल मल प्रयोगका लागि परीक्षण भइरहेको प्रमुख मण्डलले बताए । गत वर्ष धान र पटुवा बालीमा प्रयोग गर्दा झोल मलले उत्पादन बढाएको बताउँदै उनले पुन परीक्षणपछि बजारमा पठाइने बताए । प्लान्टबाट दैनिक सात टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता छ । अहिले भने दैनिक डेढ टन मल उत्पादन भइरहेको छ । 

मलसँगै सिलिण्डरमा ग्याँस पनि 

मलसँगै प्लान्टबाट ग्याँस पनि उत्पादन भइरहेको छ । उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजारमा पठाइरहेको छ । 

ग्यास उत्पादनका लागि तीन हजार घनमिटरको डाइजेस्ट प्लान्ट तयार गरिएको छ । प्लान्टबाट उत्पादित मिथेन ग्यास स्वचालित मेसिन मार्फत सिलिन्डरमा भरिन्छ । प्लान्टले उत्पादन गरेको बायोग्यास सिलिन्डर विराटनगरका दुई उद्योगले प्रयोग गर्छन् ।

केही महिनादेखि उत्पादन सुरु गरेको प्लान्टबाट दैनिक ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो पनि छ । 

‘एलपीजी र मिथेन ग्यासको क्षमता उस्तै छ, तुलनात्मक रुपमा मुल्यमा मिथेन ग्यास सस्तो पर्छ,’ बायोग्यास प्लान्टका प्रमुख मण्डलले भने,‘व्यावसायिक प्रयोजनका लागि बायोग्यास प्रभावकारी र सस्तो छ ।’ 

प्लान्टको क्षमता दैनिक ९०० केजी (१५० सिलिन्डर) बायोग्यास उत्पादन गर्ने हो । तर कच्चा पदार्थ(गोबर) अभावमा दैनिक १८० केजी (३० सिलिन्डर) मात्र उत्पादन भइरहेको छ ।

करिब साढे सात करोड लागतमा तयार भएको बायोग्यास प्लान्टको औपचारिक उद्घाटन भने २७ पुसमा गर्ने तयारी छ । 

कसरी भरिन्छ ग्यास ? 

बायोग्यास प्रमुख मण्डलका अनुसार प्लान्टका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसी फर्मबाट गोबर संकलन गरेर प्लान्टमा लगिन्छ । खरिद गरेको गोबरलाई डाइजेस्टर प्लान्टमा मेसिनबाट पठाइन्छ ।

डाइजेस्टर प्लान्टबाट पाइपलाइन हुँदै प्युरीफीकेसन प्लान्टमा मिथेन ग्यास जम्मा हुन्छ । प्युरीफीकेसन प्लान्टबाट स्वचालित कम्प्रेसर मेसिनबाट ग्यास सिलिन्डरमा भरिन्छ । ६ केजीको सिलिन्डर भरेपछि प्रयोगका लागि उद्योगमा पठाउने उनले बताए । 

प्लान्टले उत्पादन गरेको ग्यास जीवन विकास डेरी उद्योग र दूध वाला डेरी फर्मले प्रयोग गर्छन् । बायोग्यास प्रयोग गरिरहेका उद्योगले एलपीजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन् ।   

दूध वाला डेरी उद्योगका सञ्चालक बिक्की अग्रवाल एलपीजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताउँछन् ।

‘एलपीजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘ साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ ।’

जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन  लागत कम गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.