Websoft University

ज्येष्ठ नागरिकको अनुभव र ज्ञान उपयोग गरेमात्रै समाज समृद्ध ः मेयर कोइराला


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप उपयोग गर्न सकेमात्रै समाज समृद्ध हुने बताउनु भएको छ ।

तेस्रो ज्येष्ठ नागरिक दिवसको अवसर ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ, ज्येष्ठ नागरिक विराटनगर महानगर र ज्येष्ठ नागरिक विराटनगर वडा नम्बर ५ समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सयौं पृष्ठको पुस्तकमा पाउन नसकिने ज्ञान ज्येष्ठ नागरिकहरुबाट पाउन सकिने विचार व्यक्त गर्नुभयो ।

 “ज्येष्ठ नागरिकहरु ज्ञान, अनुभव र संस्कारका खानी हुन्,” उहाँले भन्नुभयो, “उहाँहरुले जीवनका विभिन्न कालखण्डमा ग्रहण गरेका अनुभव र ज्ञानलाई समाज विकासमा लगाउनु जरुरी छ ।” ज्येष्ठ नागरिकको सम्मानमा महानगर सधैं तत्पर रहेको उहाँको भनाइ थियो । महानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवासहित ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको मेयर कोइरालाले जानकारी दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मेयर कोइरालाले विराटनगर–५ की १०२ वर्षीया रत्नलक्ष्मी श्रेष्ठ, ९८ वर्षीय विष्णुप्रसाद दाहाल र विराटनगर–१ की ९६ वर्षीय अम्बरबहादुर बस्नेतलाई सम्मान गर्नुभएको थियो । ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेशका अध्यक्ष मणिकुमार अज्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङका अध्यक्ष यज्ञश्वर निरौला ज्येष्ठ नागरिक विराटनगर महानगरका अध्यक्ष सुरेश श्रेष्ठ, सचिव जयकुमार श्रेष्ठ, महानगरको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख मञ्जु लोहनी, स्वास्थ्य महाशाखाका अधिकृत अमरदीप देवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले ज्येष्ठ नागरिकप्रति समर्पित ‘रिटायर्ड जिन्दगी’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.