Websoft University

वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्छ ः कोइराला


विराटनगर  साउन १४ गते |  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताउनुभएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताउनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाभोगी नभई जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार नै हो । स्थानीय सरकारसित जनताका बढी अपेक्षा पनि हुन्छ,” कोइरालाले भन्नुभयो, “जनताले अपेक्षा गर्ने र सधैं भेट्ने सरकारले जनतालाई राम्ररी डेलिभरी र सुशासन दिन सकेन भने संघीयतामाथि नै प्रश्न उठ्न सक्छ । संघीयतामाथि प्रश्न उठ्नु भनेको देश अराजकता र अस्थिरतातर्फ जानु हो ।”

नेता कोइरालाले वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औंल्याउनुभयो । सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको उहाँको भनाइ थियो । जनताको धेरै चाहना नभएको बताउँदै कोइरालाले भन्नुभयो, “जनताले धेरै अपेक्षा गरेका छैनन्, उनीहरूलाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको पहुँचसँगै सडक र पुलपुलेसा भए पुग्छ ।” विकासका विषयमा स्थानीय तहहरूबीच प्रतिस्पर्धा हुनु जरुरी रहेको नेता कोइरालाले उल्लेख गर्नुभयो ।

भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा निर्मित भवनमा गाउँपालिकाका अध्यक्षको समेत सम्पर्क कार्यालय राखिएको वडाध्यक्ष सोमराज काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, पूर्वअध्यक्ष बालचन माझी, जग्गादाता खिलानाथ निरौलालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नगेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.