Websoft University

महानगरद्वारा विपदबाट हुने क्षति न्यूनीकरणका लागि युवा प्रतिकार्य टोली गठन


विराटनगर | विराटनगर महानगरपालिकाले विपदबाट हुने क्षति न्यूनीकरण र पूर्वतयारीका लागि युवाहरुलाई समेटेर प्रतिकार्य टोली गठन गरेको छ ।

विपदको क्षति न्यूनीकरण र पूर्वतयारीका विषयमा महानगरले तीनदिनसम्म तालिम दिएर प्रतिकार्य टोली गठन गरेको हो । उत्थानशील परामर्श सेवाको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १९ वटै वडाबाट एकजना पुरुष र एकजना महिला सहभागी भएका थिए । तालिममा सहभागी वडा नम्बर १९ का युवा सुमन बञ्चराको संयोजकत्वमा १९ सदस्यीय प्रतिकार्य टोली गठन भएको हो ।

 टोलीको सहसंयोजकमा रविना सुवेदी, सचिवमा दर्शन साह र कोषाध्यक्षमा कुशला काफ्ले रहेका छन् । टोलीले हरेक वडामा पुगेर स्थानीयलाई विपदको क्षति न्यूनीकरणका उपाय र पूर्वतयारीलगायतका विषयमा जानकारी गराउनेछ । त्यस्तै वडास्तरमा समेत विपद युवा प्रतिकार्य टोली गठन गर्ने महानगरको तयारी छ ।

सो अवसरमा भूकम्प, आगलागी, चट्याब, डुबान, बाढी, हावाहुरीलगायतका विपदबाट हुने क्षति न्यूनीकरणका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको मेयर नागेश कोइरालाले बताउनुभयो । ३८ जना सहभागी भएको तालिममा विपद व्यवस्थापनका विज्ञ रामकुमार दाहाल, यसप्रसाद सुब्बा, उत्थानशील परामर्श सेवाका प्रमुख सूर्यकुमार दाहालले सहजीकरण गर्नुभएको थियो । 

तालिममा सहभागीहरुलाई मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । विपद आइपर्दा स्थानीय स्रोतसाधनको प्रयोग गरेर विपदबाट हुने क्षति कसरी न्यूनीकरण गर्ने, उद्धार, राहत वितरण, प्राथमिक उपचारलगायतका विषयमा प्रशिक्षण दिइएको विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपाने कोइरालले  जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.