Websoft University

५० लाखको लागतमा पुनर्निर्माण गरेको मन्दिरमा हनुमानको मूर्ति प्रतिस्थापन-धर्म र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा मेयर कोइरालाको जोड


विराटनगर ÷ सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ भीमपुरस्थित हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ ।

विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गंगादेवी श्रेष्ठले २०३० सालमा स्थापना गरेको हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । धन–गंगा स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रममा नवनिर्मित मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए ।

 स्वर्गीय धनप्रसाद श्रेष्ठले २०३० सालमा मन्दिर स्थापनासँगै सो क्षेत्रमा स्वास्थ्य चौकीसमेत स्थापना गरेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हनुमानको नयाँ मूर्तिको प्रतिस्थापनका साथै पुननिर्माण गरेको मन्दिरमा पूजाको शुभारम्भसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सबै मिलेर धर्म, संस्कृति, भाषा र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिए । धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको चर्चा गर्दै उहाँले ठाउँ–ठाउँमा निर्माण हुने यस्ता मठमन्दिरले धर्म र संस्कृतिको संरक्षणमा बल पुग्ने धारणा राखे ।

बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले भीमपुरको विकासमा धनप्रसाद श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले श्रेष्ठकै पहलमा केशलियामा पुल निर्माण भएको बताउनुभयो । कार्यक्रममा बर्जु वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष जयप्रसाद यादव, निवर्तमान अध्यक्ष आनन्द यादव, वडा नम्बर ५ का निवर्तमान अध्यक्ष किशोरकुमार चौधरी, समाजसेवी बल्लभ श्रेष्ठ, सञ्चारकर्मी डा. सन्देशदास श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धनप्रसादका जेठा छोराबुहारी कृष्णप्रसाद श्रेष्ठ त्रिपुरा रानी श्रेष्ठको ५० लाख आर्थिक सहयोगमा मन्दिरको पुनर्निर्माण गरिएको आयोजक संस्थाका निश्चल श्रेष्ठले जानकारी दिए । मन्दिरको डिजाइन धनप्रसादका नाति इन्जिनियर उत्सव श्रेष्ठले गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.