Websoft University

आफ्नो निर्णय कार्यान्वयनमा महानगर कडा रुपमा प्रस्तुत-६ वटा बेग्लाबेग्लै टोली परिचालन गरेर सुर्तीजन्य पदार्थको अनुगमन


विराटनगर बैशाख ४  गते |विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ ।

गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्रीवितरणमा समेत निषेध गरेको छ । सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै महानगरले माइकिङसमेत गरेर सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लंघन गरेर बिक्रीतिवरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ । निर्णय कार्यान्वयनका लागि महानगर कडाइ रुपमा प्रस्तुत भएको छ ।

सोमबार महानगरले ६ वटा शाखा र महाशाखा  प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नम्बर १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नम्बर ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले ७, ८ र ९ नम्बर वडास्थित सार्वजनिकस्थलको अनुगमन गरेको छ । त्यसैगरी सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले ११, १२ र १६ नम्बर वडाको अनुगमन गरेको थियो ।

निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको मेयर नागेश कोइरालाले बताए । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्रै नभएर विराटनगरको सरसफाईमा समेत असर परेको मेयर कोइरालाको भनाइ छ । 

“चुरोट, गुट्खा, खैनीलगायत सुर्तीजन्य पदार्थको सेवनले एकातिर मानव स्वास्थ्यमा असर गरिरहेको हुन्छ,” उनले भने, “त्यसको खोलका महानगरको सुन्दरतामा समेत ह्रास आएको थियो ।” विराटनगरवासीकै हितमा महानगरले निर्णय गरेकाले कार्यान्वयन गर्न मेयर कोइरालाले आग्रह गरे ।

विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरदेखि एक सय मिटर वरपर भने सुर्तीजन्य ऐनले नै सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र खुल्ला रुपमा बिक्रीवितरण र सेवन गर्न नपाउने नगरसभाको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगर लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । 

सरसफाईमा समेत सुर्तीजन्य पदार्थको खोल चुनौतीका रुपमा रहेको थियो,” कोइरालाले भने, “नाला सफा गर्ने क्रममा ७० प्रतिशत त सुर्तीजन्य पदार्थको खोल मात्रै भेटिने गरेको छ ।” टोलीले अनुगमनका क्रममा पसल अगाडि झुण्ड्याएका सुर्तीजन्य पदार्थ जफत गर्नुका साथै अबदेखि खुल्ला रुपमा बिक्रीवितरण नगर्न पसल सञ्चालकहरूलाई आग्रह गरेको थियो ।

यसैबीच, महानगरले यसअघि निर्णय गरेको शनिमन्दिरदेखि अस्पतालचोकसम्मको सडकलाई मंगलबारदेखि पार्किङ निषेध गर्ने भएको छ । त्यसका लागि पार्किङस्थललाई व्यवस्थित गर्ने कार्य भइसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.