Websoft University

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन - कोइराला


विराटनगर माघ २३ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् ।

व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने मेयर कोइरालाको भनाइ थियो । “हरेक पार्किङस्थलबाट २ देखि ३ मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,” मेयर कोइरालाले भने, “विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्नुहुन्छ भने हाम्रो भन्नु केही छैन । तर, विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईंहरूले सहयोग गर्नुहोस् ।” सडकमा पार्किङ निषेधले व्यापार भएन भन्नु गलत भएको उनको तर्क थियो । “बानी नपरेका कारण अलि असहज महसुस भएको हुनसक्छ । बानी पर्दै गरेपछि सबै ठीक हुन्छ,” उनले भने, “विगतमा कालीमन्दिर अगाडि पनि पार्किङ निषेध गरिएको थियो, त्यस आसपासको व्यापारीलाई समस्या भएन त । अनि अहिले आएर अरु सडकलाई पार्किङ निषेधगर्दा समस्या भयो भन्नु ठीकभएन ।” महानगरले पुरानो जलजलाहल उत्तर, शनिमन्दिर पूर्व–दक्षिण, गुद्री, बुधहाटचोकको वी–प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको समेत सुनाए ।

सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत  गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको उनको भनाइ थियो । “समयमै एम्बुलेन्स अस्पताल नपुग्दा बिरामीको मृत्यु हुने अवस्था थियो,” उनले भने, “अनि आगलागी भयो भने दमकल समयमै नपुग्दा बढी क्षति हुन्छ । यस्तो संवेदनशील कुरा तपाईंहरूले बुझिदिनु प¥यो ।” मेयर कोइरालाले महानगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत ट्राफिक लाइट र सिटीबस सञ्चालनका लागि प्रक्रिया अघि बढाइसकेको समेत जानकारी गराए ।

उपमेयर शिल्पा निराला कार्कीले यात्रु र आमसर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेको प्रति खुसी व्यक्त गरेको बताइन् । उनले विराटनगर बनाउने अभियानमा साथ दिन व्यापारीहरूलाई आग्रहसमेत गरिन् । “विराटनगर हामी सबैको हो,” उनले भनिन्, “हामी सबै मिलेर लाग्यौं भने मात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं ।” वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे । सडकबाट पार्किङ हटाउन बजार सुन्दर देखिएको उनको भनाइ थियो । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको सुनाए ।

कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरलाई माया गर्ने हरेकले अहिलेको अभियानलाई सफल बनाउन लाग्नुपर्ने बताए । “जोगबनीबाट सामान ल्याउन अहिले कडाइ गरिएको छ । सीमामा कडाइ गरेपछि उपभोक्ताहरु उता जाने अवस्थै छै,” अध्यक्ष ढुंंगेलले भने, “त्यसो भए उपभोक्ताहरू विराटनगरमा खरिद नगरेर कहाँ गए त ?”

सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसाय चौपट्ट भएको भन्दै व्यापारीहरूले महानगरको ध्यानाकर्षण गराएका छन् । छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार संघका महासचिव अनिल सारडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीलगायतको सहभागिता  रहेको थियो । महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै उनीहरूले सडकमा पार्किङ गर्न दिएर सवारी साधनलाई एकतर्फी सञ्चालन (वनवे) बनाउन आग्रह गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.