Websoft University

कोशी अस्पतालको अनाधिकृत संरचनामा महानगरको डोजर


विराटनगर पुस २१ गते | विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउने बिहीबारबाट अभियान सुरु गरेको छ ।

नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनाधिकृत संरचना हटाएको हो । कोशी अस्पतालले सटरको नक्सा पास गरेको थिएन । साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको थिएन । विराटनगरलाई यथास्थितिमा राख्न नदिने मेयर कोइरालाको प्रतिबद्धतालाई कार्यान्वयनका लागि आफूहरूले योजनाबद्ध रुपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । “विराटनगरलाई सफा, सुन्दर व्यवस्थित र विकसित बनाउने मेयर सा’बको योजनालाई हामी कर्मचारीको तहबाट कार्यान्वयन गरिरहेका छौं,” कोइरालाले भने, “महानगरको अभियानमा सबैतिरबाट अत्यन्तै राम्रो साथ र सहयोग पाएका छौं ।” उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको बताए । त्यस्तै ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको तथ्यांक आफूहरूसित रहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।

अभियानमा सहभागी महानगरका प्रवक्ता सन्तोष न्यौपानेले सूचना दिएर नियमविपरीत निर्माण गरिएका संरचना हटाइएको प्रस्ट्याए । उनले महानगरवासीबाट अत्यन्तै सकारात्मक सहयोग र प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गरे । महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ । भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । उनले महानगरले २ पटक पत्र काटेर नक्सा पास गर्न र बहाल कर तिर्न आउन आग्रह गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि डोजर चलाउनु परेको दाबी गरे ।

सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानप्रति स्थानीयले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । महानगरले सुरु गरेको अभियानलाई सबै वडामा पु¥याउनुपर्नेमा जोड दिएका हुन् । स्थानीय युवा मोहम्मद रसिस खानले एउटा वडालाई मात्रै राम्रो बनाउन नभएर १९ वटै वडालाई राम्रो र व्यवस्थित बनाउन अभियान चलाउन महानगरलाई सुझाव दिए । “महानगरको यो अभियान अत्यन्तै राम्रो छ । तर यो अभियानलाई १९ वटै वडामा पु¥याउनुपर्छ,” खानले भने, “सबैतिर समान किसिमबाट काम भयो भने अभियानमा महानगरवासीको साथ रहन्छ ।”

प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन महानगरले अभियान सुरु गरेको छ । कोशी अस्पतालले निर्माण गरेको संरचना हटाउन सरसफाई शाखा प्रमुख पुनम दाहाल, महाननगर प्रहरीका प्रमुख राजन पौडेलसहितका कर्मचारी डोजर लिएर पुगेका थिए । रुखका हाँगा र अनाधिकृत संरचना हटाउन थालेपछि स्थानीयले ताली बजाएर महानगरको टोलीलाई हौस्याएका थिए । डोजरले लडाएको रुखका हाँगा महानगर प्रहरीले काटेर तत्कालै हटाएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.