भदौं १९, काठमाडौं । नेपाल पत्रकार महासंघले आइतबार लाजिम्पाट स्थित इमेज टेलिभिजनको कार्यालयपरिसरमा एक घण्टा धर्ना दिएको छ ।
कोभिडकालमा निश्काशन गरेका श्रमजीवीहरुको पारिश्रमिक अझै उपलब्ध नगराएको, २०७६ देखि चाडवाडका पैसा उपलब्ध नगराएको, कल्याणकारी कोषमा पत्रकारको पारिश्रमिक काटिने तर व्यवस्थापन पक्षले पारिश्रमिक नहालेको र नियमित पारिश्रमिक नदिइएको, न्यूनतम पारिश्रमिक समेत सवै पत्रकारहरुलाई नदिएको विषयमा पत्रकार महासंघले इजेज टेलिभिजनमा आइतबार सांकेतिक रुपमा एक घण्टा धर्ना दिएको हो ।
नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाले व्यवस्थापनसँग केही समय अगाडि मागपत्र प्रस्तुत गर्दा र महासंघ केन्द्रले पनि इमजेमा देखिएका श्रम सम्बन्धी समस्या समाधानका लागि पटक पटक आग्रहगर्दा समेत व्यवस्थापन पक्षबाट बेवास्ता भएपछि महासंघले आइतबार धर्ना कार्यक्रम राखेको थियो ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको पारिश्रमिक सम्बन्धमा कसैमाथि अन्याय भए महासंघले सुरु गरेको आन्दोलनमा जोडिन आग्रह गर्नुभएको थियो ।
‘पीडित पत्रकारले न्याय नपाउँदासम्म महासंघ पत्रकारको पक्षमा लडिरहन्छ । आन्दोल विचैमा छोडेर सम्झौता गर्दैन,’ बरिष्ठ उपाध्यक्ष विष्टले भन्नुभयो । उहाँले पारिश्रमकको विषयमा आवज उठाउने पत्रकारलाई व्यवस्थापन पक्षबाट हुनसक्ने नकारात्मक व्यवहारबाट नडराउन पनि आग्रह गर्नुभयो ।
महासंघका महासचिव रोसन पुरीले राज्यबाट सेवा सुविधा लिने तर पत्रकार तथा श्रमिकको सेवा सुविधा नदिने सञ्चारमाध्यमको खुलेर विरोध गर्ने बताउनुभयो ।
सञ्चारक्षेत्रको विकासका लागि केही सञ्चारमाध्यमले सरकारबाट सहुलियतपूर्ण ऋण लिएर अन्य क्षेत्रमा लगानी गरेको भन्दै महासचिव पुरीले त्यसको हिसाबकिताब खोजिने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने सञ्चारगृहका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ, इमेज च्यानल प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले पत्रकारको श्रम समस्या समाधन गर्न पटकपटक आग्रह गर्दासमेत व्यवस्थापनपक्षले बेवास्ता गरेका कारण धर्ना दिन बाध्य भएको बताउनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु लगायत ईमेज च्यानलमा कार्यरत पत्रकार र अन्य सञ्चारमाध्यममा काम गर्ने पत्रकारको सहभागिता रहेको थियो ।
Post a Comment