Websoft University

केशलिया नदी करिडोर निर्माण गर्ने प्रदेश सरकारको तयारी


विराटनगर ।रातो तारा डट कम, प्रदेश नम्बर एकको राजधानीमा हुने बाढी र डुबानको समस्या निराकरण गर्ने उद्देश्यसाथ प्रदेश सरकारले बुढीखोला÷केशलिया नदी करिडोर निर्माणको प्रस्ताव अघि सारेको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा करिडोर निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश सहयोग कार्यक्रमका विज्ञहरुले तयार गरेको अध्ययन प्रतिवेदनले नदी नियन्त्रणसँगै बस्ती विकास, सहरी वन विकास र कृषिक्षेत्रको आधुनिकीकरणको सम्भावनाबारे औंल्याइएको छ ।

विभिन्न पालिकालाई जोडेर संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउन सकिने परियोजनाको लागत रु १४ अर्ब अनुमान गरिएको छ । केशलिया नदीमा दायाँबायाँ बाँध बाँधेर करिडोरको रुपमा विकास गर्न सके त्यसले विराटनगरसहित दुहबी, बुढीगंगा र विराटनगरमा बाढी नियन्त्रण गर्नुका साथै विविध वातावरणीय फाइदासमेत पुग्ने जनाइएको छ ।

विज्ञ प्रशान्त मल्ल, ज्योती श्रेष्ठ र महेन्द्र सुब्बाले करिडोर निर्माणबाट हुनसक्ने फाइदाको विषयमा चर्चा गरेका थिए । त्यस अवसरमा प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले करिडोर निर्माण गर्न तीनवटै तहका सरकारको पहलकद्मी आवश्यक रहेको भन्दै यसको लागि प्रदेश सरकार सहभागी हुन तयार रहेको बताए । “व्यवस्थित बसोबास, बाढी नियन्त्रण र कृषिक्षेत्रको विकासका लागि पनि करिडोर महत्वपूर्ण हुने प्रदेश सरकारको बुझाई छ ,” मन्त्री आङ्बोले भने ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले करिडोर निर्माणको काम पूरा भएपछि विराटनगरमा हुने बाढी र डुबानको समस्या निराकरण हुनुकासाथै यो वहुउपयोगी सावित हुने दाबी गरे । भने,“करिडोरले समेटिने सबै पालिकाहरुको समग्र विकासमा यो परियोजना सहयोगी हुने छ ।” कार्कीले केशलिया नदीलाई भारत सिमानासम्म करिडोरको रुपमा विकास गर्ने प्रदेश सरकारको तयारी रहेको सुनाए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लम्समले धेरै ठूला सहरहरुले नदी नियन्त्रणबाट पर्यटनसम्मको विकास गर्न सकेको भन्दै प्रदेश राजधानी विराटनगर आसपास रहेका नदीको उचित नियन्त्रण गर्नसके त्यसबाट फाइदा पुग्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले केशलियामात्र नभएर सिंघीया नदी नियन्त्रणको लागि समेत काम अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गरे । कोइरालाले भने,“यो काममा हमी सँगै मिलेर काम गर्न सक्छौं ।”

केशलिया करिडोरअन्तर्गत २० वर्षदेखि १ सय वर्षसम्मको बाढी नियन्त्रणको योजना बनाइएको विज्ञ प्रशान्त मल्लले जानकारी दिएका छन् । यस क्रममा सहरका भित्री सडक निर्माण, स्तरोन्नतिदेखि पुलपुलेसा तथा कल्भर्ट निर्माणका कामसमेत समेटिएका छन् । नयाँ बस्ती निर्माणदेखि सहरी वनको विकाससमेत यसमा समेटिएको मल्लले बताए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.