Websoft University

सुन्दरहरैँचाको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रमका लागि सर्वपक्षिय छलफल


मोरङ  असार १ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमका लागि सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको हसिना सभाहलमा मेयर केदारप्रसाद गुरागाईको अध्यक्षतामा विभिन्न क्षेत्रमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरि छलफल भएको हो । 


कार्यक्रममा अधिकांश प्रतिनिधिहरुले फोहोरमैला व्यवस्थापन, कृषि क्षेत्रको लागि नविनतम् प्रविधि, सुशासन, दिर्घकालिन योजना सञ्चालन, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकास र रोजगारलाई प्राथमिकतामा ल्याउन राय सल्लाह दिनुभयो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्नुहुने डोलेश्वर तिम्सिना (नवीन) ले फोहोरमैला व्यवस्थापनलाई आधुनिक प्रविधिको माध्यमबाट फोहोरलाई मोहरमा बदल्ने तरिकाले जान सुझाव दिनुभयो । हैन भने भविष्यमा गएर काठमाडौँको जस्तो विकराल समस्या आउने भएकाले बेलैमा कार्यविधि बनाई कार्यान्वयन गर्न समेत सल्लाह दिनुभयो त्यस्तै वर्षातको बेला हुने डुबान समस्या, वर्षाैदेखि सञ्चालनमा आएर पनि दर्ता नभएका व्यवसायीहरुलाई छुटको कार्यक्रम ल्याएर दर्ता प्रक्रियामा ल्याउन सुझाव दिनुभयो ।

नागरिक समाजका अध्यक्ष दधिराम ढुंगानाले यातायातका साधनबाट निस्कने फोहोर व्यवस्थापन गर्न सबै सवारी साधनमा डस्बिन राखेर नगरमा देखिने फोहोर कम गर्ने नीति ल्याउनुपर्ने बताउनुभयो । खेतीयोग्य जमीनको नक्साङ्कन गर्नुपर्ने, उत्पादनका आधारमा अनुदान दिनुपर्ने भन्दै नागरिक समाजको अवधारणा पत्र नगरप्रमुखलाई हस्तान्तरण गर्नुभयो ।

नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले पर्यटकीय क्षेत्रको विकाश, मठ–मन्दिरको अभिलेखीकरण, विद्यालयमा दिइने अनुदानको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । नगरमा रहेको धनी देखिने विद्यालयले नै वर्षेनी अनुदान पाउने गरेको उदाहरण दिँदै यसलाई पूर्ण रुपमा रोकी सञ्चालनमा कठिनाई रहेका विद्यालयलाई अनुदान र सहयोग गर्ने नीति नगरले ल्याउन सुझाव दिनुभयो।

कार्यक्रममा बोल्दै सुन्दरहरैंचा–५ का किसान चन्द्रप्रकाश भट्टराईले वर्षौंदेखि कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो । यस्तै, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज चापागाईले सबै वडामा १÷१ वटा नमूना सडक निर्माण गर्नुपर्ने, सडकमा उच्च प्रविधिको सीसी क्यामेरा जडान, सडक बत्ती, सरकारी जग्गाको पहिचान गरी ९९ वर्षको लागि लिजमा दिएर रोजगारी सिर्जना हुने खालका उद्योग स्थापनामा नगरसभाले कार्यक्रम ल्याउनुपर्ने भनाइ राख्नुभयो ।

अगुवा किसान ऐनकुमार गिरीले सरकारबाट लिइने अनुदानमा किसानलाई सास्ती भएको भन्दै जताततै कमिसनको कारणले किसान मारमा परेको बताउनुभयो । किसानलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभएको छ ।

यसैगरी, बालबालिकाको क्षेत्रमा नगर बाल सञ्जालका अध्यक्ष मदन भण्डारीले बालमैत्री नगर बनाउन योजना ल्याउनुपर्ने र नगरलाई बाल विवाहमुक्त नगर बनाउनुपर्ने, सबै विद्यालयमा बालहिंसाका विषयमा जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका नगर अध्यक्ष मातृकाप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालय, सुकुना बहुमुखी क्याम्पस जस्ता शैक्षिक संस्थालाई व्यवस्थित र नगरको गौरवको रुपमा लानुपर्ने बताउनुभयो । अधिकांश वक्ताहरुले फोहोर व्यवस्थापन, कृषि शिक्षा र स्वास्थ्यका बारेमा चासो राख्नुभएको थियो । अन्त्यमा नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्राप्त भएका सुझाव र सल्लाहलाई ग्रहण गर्दै आगामी वर्षको कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । इलाका प्रशासन कार्यालय स्थापनाका लागि मन्त्रालयसम्म कुरा पुगेको बताउँदै चाँडै सो कार्यालय स्थापना गरिने जानकारी समेत दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.