Websoft University

विराटनगरवासीलाई डुबानबाट मुक्त गर्न काम भइरहेको छ - कोइराला


विराटनगर जेठ  १४ गते। रातो तारा डट कम, विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले 


वर्षाको समय आएकाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्ने गरी काम गरिरहेको बताएका छन् । 


नेपाली कांग्रेस विराटनगर वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले जसरी हुन्छ यसपटकको बर्खामा महानगरवासीलाई डुबानबाट मुक्त गर्ने गरी काम भइरहेको प्रस्टाए । त्यसका लागि इन्जिनियरहरुलाई स्पष्ट खाका बनाउन निर्देशन दिइसकेको उनको भनाइ छ । “महानगरभित्रका सबै नाला सफा गर्ने काम सुरु भइसकेको छ,” मेयर कोइरालाले थपे, “इन्जिनियरहरुलाई कहाँकहाँ पैनी, ठूला नाला, खोला सफा गर्नुपर्छ त्यसका लागि खाका लिएर आउनु भनेको छु ।” 

मेयर कोइरालाले सबैको सहयोगले पाँच वर्षभित्र विराटनगरलाई सफा, सुन्दर र गर्व गर्न लायक बनाउने उद्घोष गरे । कोइरालाले अनेकौं सम्भावना हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको बताए । उनले सबैको साथ र सहयोगले सफा, सुन्दर, हरियाली र आत्मनिर्भर महानगर बनाउने प्रतिबद्धता जनाए । “हामीले कार्यभार सम्हालेको धेरै दिन भएको छैन, आजको भोलि परिवर्तन हुँदैन,” उनले भने, “सफा, सुन्दर, हरियाली र हरेक विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने हाम्रो लक्ष्य छ ।” 

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ताले विराटनगर प्रदेश १ को राजधानी भएकाले विकास हुनु जरुरी रहेको उल्लेख गरे । उनले संघीय र प्रदेश सरकारबाट बजेट ल्याएर सडक पूर्वाधारसहितको विकासमा जोड दिन सुझाव दिए । कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईंले जनप्रतिनिधिहरुले झिनामसिना विषयमा नअल्झी जनमुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए । सभापति चापागाईंले भने, “मेयरसहित सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्दछु तपाईंहरु अब सानातिना कुरामा नअल्झी जनअपेक्षाअनुसार काम लाग्नुहोस् ।” 

उनले महानगरवासीको अपेक्षा धेरै भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नआग्रहगरे । त्यस्तै नवनिर्वाचित वडाध्यक्ष विश्वनाथ भगत (लालु)ले जनताको सेवामा सधैं सक्रिय हुने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ की सभापति अनुजा कोइरालाले सबैको साथ र सहयोगले विराटनगरमा मेयर कांग्रेसले जितेको बताइन् । उनले वडा नम्बर ९ मा अध्यक्षसहित सबै पदमा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन् । “वडावासीको अथक प्रयास र सक्रियताकै कारण वडामा कांग्रेसले जितेको हो,” कोइरालाले भनिन्, “यो सबैको सामूहिक प्रयासबाट सम्भव भएको हो ।” कार्यक्रममा विजेयता अधिकारीलगायतले जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए । सो अवसरमा नवनिर्वाचित मेयर, वडाध्यक्ष र सदस्यहरुलाई टीका, माला र खादा लगाएर मायाको चिनो प्रदान गरिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.