Websoft University

भूगोल मिल्दा पथरीशनिश्चरेमा एमालेको जनलहर


पथरी । रातो तारा डट कम, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रमुख उम्मेदवार चयनमा भूगोल समेतलाई ख्याल गरिएको कुराले नेकपा एमालेको पक्षमा थप जनलहर सृजना भएको छ । 

उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक पथरी गाविसका अध्यक्ष भइसकेका वडा नम्बर २ मोहनप्रसाद तुम्वापो र उपप्रमुखमा पार्टीकी नगरकै अगुवा नेतृ वडा नम्बर ६ अन्तर्गतको साविक हसन्दहकी देवीमाया काफ्लेको उम्मेदवारीले थप जनलहर सृजना भएको पाइएको छ । बजार क्षेत्रबाटै प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउने कुरालाई यसले चिरेर भूगोलको विकटताका हिसाबले पछि परेको हसन्दहलाई समेत उत्तिकै प्राथमिकता दिएकोप्रति खुसी छाएको हसन्दहका मुस्लिम समुदायका एक अगुवा बताउँछन् । 

वडा नम्बर ५ मा अवस्थित भेटघाट चोक पूर्व वालुवाटारका राज राई  भन्छन् ‘हाम्रो पछि परेको हसन्दह क्षेत्रबाट एमालेले उपप्रमुखको उम्मेदवार उठाएकोमा खुसी छौं । उहाँले जितेर वक्राहा खोलाको समस्या समाधान गर्न समेत पहल गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

२०५४ मा एमालेबाट पथरी गाविसका अध्यक्ष निर्वाचित भएका चुस्त कार्यसम्पादनका अनुभवी तुम्वापो पार्टीको हाल प्रदेश सदस्य हुन् । सादगी जीवन विताउन रुचाउने तुम्वापो पार्टीका बौदिक नेता र स्पष्ट वक्ताका रुपमा परिचित छन् । ‘मेरो पहिलेको अनुभवलाई अहिलेको संघीय व्यवस्थाको मर्मसँग जोडेर नगरमा केहि नयाँ कुरा गर्ने मेरो उत्साह छ । त्यसका लागि विजय प्राप्त गर्ने प्रतिष्पर्धामा अगाडि छु ।’– उनले भने । 

जीवनको लामो समय सामाजिक अभियानमा सक्रिय रहँदै आएकी काफ्ले निष्ठाको राजनीति गर्दै समाज रुपान्तरणमा होमिइरहेकी छन् । लगातार तिनपटक पार्टीको जिल्ला सदस्यका रुपमा हालपनि कार्यरत छन् । जननेता मदनकुमार भण्डारीको सामिप्यताको मार्गदर्शनले आफुलाई निष्ठाको राजनीति र सामाजिक काममा हिँडाएको उनको भनाइ छ । 

उनले साविक पथरीतर्फको भूगोलमा पनि आफ्नो प्रभाव यसबेला प्रचार प्रसारका रुपमा थप विस्तार गरिरहेकी छन् । ‘सामाजिक काममै जीवन समर्पण गरें । अव एकपटक जनप्रतिनिधि भएर नगरमा सेवा गर्ने मेरो अठोट छ ।’– उनले जित्ने उत्साहका साथ भनिन् । पहिलो कार्यकालमा एमालेबाट नगर प्रमुखमा दिलीपकुमार राई र उपप्रमुखमा एमालेबाटै यमुना विष्ट वास्तोला निर्वाचित भएका थिए । 

नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार नगेन्द्र सुब्बा र उपप्रमखकी उम्मेदवार कविता पराजुली वडा नम्बर १ को पथरी बजारका आँगन जोडिएका छिमेकी हुन् । ‘अरुको भोट बाँडिन्छ, हाम्रो कतै नबाढिने भएकाले हामी दुवैले जित्छौं ।’– दुवैको एकैखाले भनाइ छ ।  पार्टीका पुराना बफादार भएपनि सामाजिक काममा खास सक्रिय नदेखिएका सुब्बाको सवालमा कांग्रेसभित्र नै पनि असन्तुष्टि व्याप्त देखिएको छ । पराजुली सामाजिक काममा सक्रिय भएपनि दक्षिणी क्षेत्रमा उनको पनि सामाजिक उपस्थिती खास छैन । 

नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीको गठवन्धनबाट नगर प्रमुखको उम्मेदवारमा माओवादीका दिननाथ तिम्सिना र नेकपा समाजवादीकी विन्दु राई छन् । दुइमध्ये विन्दुलाई बढी रुचाइएको भएपनि जितका लागि भनें एमालेसँग टक्कर लिन नसक्ने देखिएको वडा नम्बर २ का मतदाता सविन राईको बुझाई छ । 

विन्दु संविधानसभा सदस्य चण्डीप्रसाद राईकी श्रीमती समेत भएकाले उनको सामाजिक सक्रियताले थप भोट तान्ने देखिन्छ । प्रमुखमा कांग्रेससँग र उपप्रमुखमा नेकपा समाजवादीसँग केही प्रतिष्पर्धा हुने मतदाताको विश्लेषण छ । कांग्रेसले जित्ने कोशिसमा बल गरेको भएपनि अन्य गठवन्धनले भनें आफुहरुले जित्ने अवस्था नभएपछि के कसरी हुन्छ एमालेलाई हराउने रणनीति अघि सारेको स्रोतले बताएको छ । 

राप्रपाले पनि यो पटक आफ्नो मत बढाउने देखिन्छ । कांग्रेसको प्रमुखको उम्मेदवारको सन्दर्भले नेकपा समाजवादीले एमाले र कांग्रेसको उस्तै उस्तै रुपमा भोट काट्ने तथा माओवादीको भोट घट्ने भएकाले अघिल्लो निर्वाचनकै जस्तो अवस्था सिर्जना हुने विश्लेषण छ । वडा वडामा युवा उम्मेदवारको संख्या यो पटक सवै दलमा बढेको छ ।

एमालेबाट वडा नम्बर १ देखि १० सम्ममा क्रमश ः भीमकुमार राई, नैनासिंह राई, घनश्याम कोइराला, प्रेमप्रसाद न्यौपाने, उमानाथ अधिकारी, निर्मल कटुवाल, उद्धवराज वस्नेत, नवीनजंग कार्की, भानुभक्त राई र जीवन खतिवडा वडाध्यक्षको उम्मेदवार बनेका छन् । जसमध्ये भानुभक्त राई ९ नम्बरका निवर्तमान वडाध्यक्ष हुन् । 

नेपाली कांग्रेसबाट वडा नम्बर १ देखि १० सम्म क्रमशः राजेन्द्र वस्नेत, टीका तामाङ, विजय सुब्बा, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, कृष्ण बस्नेत, जीतन राई, टेकबहादुर थापा, वीरबहादुर राई र भूवन थापा वडाध्यक्षको उम्मेदवार छन् । एमालेले २०७४ को निर्वाचनमा पराजय भोगेको वडा नम्बर ५, ६, ८ र १० मा यो पटक जित्ने अवस्था सिर्जना भएको छ । 

५ मा कांग्रेसको अगुवाईमा कांग्रेस र माओवादी मिलेर स्वतन्त्र प्यानलै बनाएपछि कांग्रेसकै भोट काटाकाट भएर एमालेले जित्ने अवस्था सिर्जना भएको छ । ८ मा सामाजिक काम गरेर सवैको प्रीय हुन सफल भएका नवीजंग कार्की र १० का पुराना अनुभवी तथा सामाजिक काममा सक्रिय भएर लामो समयदेखि जिल्ला सदस्य रहिरहेका जीवन खतिवडाको बढी चर्चा छ । राप्रपाबाट नगर प्रमुखमा शम्मरबहादुर राई उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट पुजन राई नगर प्रमुखको उम्मेदवार रहेका छन् । 

२०७४ को निर्वाचनमा वडा नम्बर १, २, ३, ७ र ९ बाट एमालेले अध्यक्ष सहितको प्यानलै जितेको थियो । ४ मा माओवादीले प्यानलै जितेको थियो । ५, ६ र १० मा अध्यक्षमा नेपाली कांग्रेसमा जितेपनि सदस्यहरु मिश्रितरुपमा निर्वाचित भएका थिए । 

भौतिक विकासमै जोड दिइएको अवस्थाका सबै पार्टीको घोषणा पत्र उस्तै उस्तै नै छन् । एमालेले आफ्नो पार्टीको प्रमुख र उपप्रमुख रहेको बेला सुरु गरेको हाल १५ शैयाको नगर अस्पताललाई कम्तिमा २५ शैयाको बनाउने, दीर्घ रोगी र मृगौला पीडितको डाइलासिस उपकरण अस्पतालमै व्यवस्थापन गर्ने, महिला स्वास्थ्य स्वयमसेविकालाई अवकास हुँदा दिइदै आएको ६० हजारलाई बढाएर १ लाख पुर्याउनेसहितका एमालेको घोषणापत्रमा उल्लेख छ । 

नगरपालिकाको कार्यालय भवन निर्माण, खोलाहरुमा तटबन्ध, सडक कालोपत्रे, पुल पुलेसा निर्माण, सामुदायिक माविहरुमा ५ वर्षभित्र विद्युतीय कक्षाको व्यवस्थान गरिसक्ने सहितका घोषणा गरिएको छ । भूमि समस्या समाधान लागि सम्बन्धित निकायमा पहल, कृषि, पशुपालन क्षेत्रको विकास, सामूदायिक वनहरुसँगको साझेदारीमा वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, कला, साहित्य र संस्कृतिको संरक्षण, महिला समानता र सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा पनि उसैगरी उल्लेख छ । सुसासन तथा प्रविधिमैत्री वातावरणको पक्षमा पनि घोषणापत्र बोलेको छ । 

दल र स्वतन्त्र समेत गरी २८३ जनाले दिएको उम्मेदवारी मध्ये १६ जनाले फिर्ता लिएका छन् । नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । वडा अध्यक्षमा ५८, खुला सदस्यमा ११४, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको थियो । नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्र कायम गरिएको छ । 

पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेको नगरको निर्वाचन कार्यालयले जनाएको छ ।

गठबन्धनका उम्मेदवारसँग खुद्रा व्यापारी असन्तुष्ट

मोरङको सुन्दरहरैँचा नगरपालिकाका खुद्रा व्यापारी गठबन्धनबाट मेयरको उम्मेदवार बनेका शिवप्रसाद ढकालसँग असन्तुष्ट बनेका छन् । 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका ढकाल यसअघि सोही नगरपालिकाका मेयर थिए । २०७४ सालको स्थानीय निर्वाचनमा विजयी भएर नगरको नेतृत्व गरेका बेला ढकालले आफूहरुलाई विस्थापित गराउन खोजेको गुनासो उनीहरुको छ । सुन्दरहरैँचामा ३ सयभन्दा बढी खुद्रा व्यापारी छन् । 

उनीहरुले साप्ताहिक हटियामा पसल राखेर व्यापार गर्दै आएका छन् । तर नगरपालिकाको नेतृत्व ढकालले गरेका बेला सबैभन्दा बढी मारमा आफूहरु परेको रेडिमेड कपडा व्यापारी कमल घिमिरेले बताए । उनका अनुसार सुन्दरहरैँचा–८ को सलकपुरमा रहेको साप्ताहिक हटियाको उचित व्यवस्थापनमा ढकालले चासो दिएनन् । उल्टै लथालिंग बनाएर छाडिदिएको घिमिरे बताउँछन् । 

‘खुद्रा व्यापारलाई व्यवस्थित गर्ने भनेर १ वर्षअघि सलकपुर बजारमा रहेका घरटहराहरु भत्काइयो । तत्काल नयाँ संरचना तयार पारेर व्यापारका लागि सहज बनाउने भनियो,’ अर्का व्यापारी गोकुल दाहालले भने, ‘तर अहिलेसम्म खुद्रा व्यापारीका लागि केही पनि गरिएन । मेयरको बोली आश्वासनमै सीमित बन्यो ।’ नगरपालिकाले भएको टहरा भत्काएर नयाँ निर्माण नगर्दा खुद्रा व्यापारी सबैभन्दा बढी मारमा परेको उनको भनाइ छ । 

पसल सञ्चालन गरिँदै आएको टहरा भत्काइएपछि खुद्रा व्यापार चौपट बनेको दाहालले बताए । ‘खुद्रा व्यापारीले पसल गर्दै आएका सबै टहरा भत्काइएको छ,’ उनले भने, ‘अहिले खुला ठाउँमा पसल गर्नुपर्ने बाध्यतामा हामी छौँ ।’ दाहालले निवर्तमान मेयर ढकाललाई पटकपटक भेटेर कुरा राख्दा र निवेदन दिँदा पनि समस्याको सुनुवाई नभएको गुनासो पोखे । 

खुद्रा व्यापार गर्दै आएको ठाउँमा बगैंचा बनाउने तथा व्यापारलाई सहज बनाउन उचित संरचना निर्माण गरेर उपयुक्त स्थानमा स्थानान्तरण गरिने भन्दै टहरा भत्काएर ढकालले विस्थापित गराउन खोजेको गुनासो व्यापारीको छ । खुला ठाउँमा व्यापार गर्नुपर्ने र ढलको उचित व्यवस्थापन नहुँदा वर्षातका समयमा बजारभित्रै पस्ने पानीले सामान भिजेर नष्ट बनाइदिने गरेको घिमिरेले बताए । 

बजार व्यवस्थापन समितिलाई समस्या राख्दा उल्टै थर्काउने गरिएको गुनासो व्यापारीको छ । ‘सुन्दरहरैँचालाई विकासको बगैंचा बनाउँछौँ भन्ने प्रतिवद्धता ढकालले गरेका थिए । त्यही भएर अघिल्लो निर्वाचनमा भोट दिएर विजयी गराएका हौँ,’ एक व्यापारी भन्छन्, ‘तर ढकाल नगरको नेतृत्वमा आइसकेपछि सर्वसाधारणका कुरै सुनेनन् । मनलाग्दी काम गरेर खुद्रा व्यापारीको विचल्ली बनाइदिए ।’ 

नगरको विकासमा केही पनि योगदान नदिएका व्यक्तिले फेरि पनि मेयर बन्न उम्मेदवारी दिएको देख्दा उदेक लागेको व्यापारी बताउँछन् । ‘हाम्रो समस्या बजार व्यवस्थापन समितिले पनि सुन्दैनन् । न त नगरपालिकाले नै सुन्यो,’ दाहाल भन्छन्, ‘जनप्रतिनिधिको बेइमानीले गर्दा खुद्रा व्यापारीको विचल्ली भएको छ । व्यापार चौपट बनेको छ ।’ 

निवर्तमान वडाध्यक्ष खेमप्रसाद न्यौपानेले सलकपुर बजारको खुद्रा व्यापारलाई नगरपालिकाले नै अव्यवस्थित बनाएको बताए । ढकाल निर्माण गरेर बजारलाई व्यवस्थित बनाउन पटकपटक आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको उनको भनाइ छ । यस विषयमा बुझ्न खोज्दा मेयरका उम्मेदवार ढकालले भने फोन उठाएनन् । 

ढकाल कांग्रेस र माओवादीको गठबन्धनबाट सुन्दरहरैँचामा मेयरको उम्मेदवार बनेका छन् । गठबन्धनबाट माओवादीका नवराज चापागाईंले उपमेयरमा उम्मेदवारी दिएका छन् । गठबन्धनको प्रतिस्पर्धी एमालेबाट केदारप्रसाद गुरागार्ईं मेयर र अकलीदेवी चौधरी उमपेयरका उम्मेदवार छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.