Websoft University

नेपाली काङ्ग्रेस विराटनगरको चुनावी सङ्कल्पपत्र सार्वजनिक, यस्ता छन् कार्यक्रम

विराटनगर बैशाख १६ गते । रातो तारा डट कम, नेपाली काङ्ग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिउका कार्यक्रमहरु समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ । 

विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल तिरिदिनेसहितका विभिन्न कार्यक्रमसमेटिएका चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । 

आज काङ्ग्रेसको महानगरसमितिले एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको सङ्कल्पपत्र सार्वजनिक गरेको हो । महानगरमा आफ्नो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने कांग्रेसको घोषणा छ । 

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले आफूहरु बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका अनुयायी भएकोले त्यही सपना साकार पार्न निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्ने गरीका कार्यक्रम घोषणा गरिएको बताए । ‘त्यसैका आधारमा हामीले फ्री विद्युत्को कार्यक्रम अघि सारेका हौँ,’ उनले भने ।

कोइरालाले आफूले समाजवादको सिद्धान्तमा रहेर चुनावी सङ्कल्पपत्र तयार पारेको दाबी गरेका छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गरिने पनि कोइरालाले जानकारी गराएका छन् । 

कोइरालाले महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा र सामाजिक कार्यमा प्रदान गर्ने प्रतिबद्धता प्रकट गरे । 

उनले आफ्नो पार्टी विजयी भएमा विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको २५०० क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने अर्को महत्वाकांक्षी घोषणा गरेका छन् ।

‘आज हरेक राजनीतिक पार्टी, तिनका भ्रातृ, भगिनी र शुभेच्छुक सङ्गठन तथा अन्य विभिन्न सङ्घसंस्थाहरू आफ्नो महाधिवेशन गर्ने उपयुक्त स्थान पाइरहेका छैनन्’, उनको भनाइ थियो,‘राजनीतिक चेतनाको उद्भवस्थल विराटनगरलाई महाधिवेशनको केन्द्र बनाउने हो भने यहाँको महत्त्व र आकर्षण अझ बढ्नेछ ।’

सङ्कल्पपत्रमा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पु¥याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख गरिएको छ ।

साथै सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्याङ्क स्थापना गर्ने बताइएको छ ।

सङ्कल्पपत्रमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने जानकारी गराइएको छ ।

कोइरालाले तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने घोषणा गरे ।

उनले आफ्नो दल विजयी भएमा विराटनगरमा एक औद्योगिक र राजनीतिक सङ्ग्रहालयको निर्माण गर्ने स्पष्ट पारे ।

‘बिजुली, टेलिफोन, इन्टरनेट लगायतका तारका सन्जाललाई भूमिगत गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गरिनेछ’, सङ्कल्पपत्रमा भनिएको छ, ‘रोजगारी र निर्यात वृद्धि गर्ने उद्योग तथा व्यवसायको वर्गीकरण गर्ने गरी निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरिनेछ ।’

कोइरालाले ट्राफिक सम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी)–सहितको आकासे पुल निर्माण गरिने बताए ।

उनको कथन थियो, ‘विराटनगरमा ट्राफिक जामको समस्या क्रमशः विकराल बन्दै गएको छ । यसका तत्काल वैकल्पिक उपायको आवश्यकता छ । चुनावी विजयपछि हामी यो समस्याको तत्काल सम्बोधन गर्नेछौँ ।’

सङ्कल्पपत्रमा सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने स्पष्ट पारिएको छ ।

साथै नगरको पूर्वी र पश्चिम सीमामा रहेका केसलिया र सिङ्घिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने कार्यक्रम पनि राखिएको छ ।

सङ्कल्पपत्रमा विराटनगरका मध्य भागमा अवस्थित नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने बताइएको छ । 

कोइरालाले कला, साहित्य र सङ्गीतको निरन्तर कार्यक्रम सञ्चालनका लागि ‘ओपन स्क्वायर’ निर्माण गर्ने घोषणा गरे ।

साथै विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी)–सम्म यही वर्ष आइपुग्ने कार्गो रेलको सेवालाई समुचित व्यवस्थापन गर्न रेलको यार्डदेखि आईसीपीसम्म पक्की सडक निर्माण गर्ने कार्यक्रम पनि सङ्कल्पपत्रमा उल्लेखित छ ।

घोषणा सभामा नेका केन्द्रीय सदस्यहरू महेश आचार्य, डा. डिला सङ्ग्रौला र भीम पराजुलीले विराटनगरको विकासमा कांग्रेसले थप जिम्मेवार भएका कार्य गर्ने बेला आएको बताए ।  



 

 


 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.