Websoft University

आरोहण गुरुकुलको काव्यरोहणको नवौं शृङ्खलामा श्रवण मुकारुङ


विराटनगर चैत ५ गते । रातो तारा डट कम, आरोहण गुरुकुलको काव्यरोहण कविता यात्रामा अग्रज कवि श्रवण मुकारुङ प्रस्तुत हुनु भएको छ । 


आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार आयोजित काव्यरोहणको नवौं शृंखलामा अग्रज कवि मुकारुङ प्रस्तुत हुनु भएको हो । कवि मुकारुङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’, ‘मेडम गीता’, ‘डिप्रेसनमा राम’, ‘हुमानसिंह भुजेलको भैंसी’, ‘गाउँ र आमा’, ‘मोहन कोइराला’, ‘मानिसको मृत्यु’ र ‘बिसे नगर्चीको बयान’ शीर्षकका कविता वाचन गर्नु भएको थियो । मुकारुङले वाचन गरेका हरेक कविताले दर्शक स्रोताको गडगडावट ताली पाएको थियो । २०७६ मंसिर ७ गतेदेखि सुरु भएको काव्यरोहण शृंखलामा हालसम्म बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा र सुमन पोखरेललाई प्रस्तुत गरिसकेको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । 

नवौ शृंखलामा प्रस्तुत मुकारुङले आफूले कविता लेखन यात्राको साढे ३ दशकमा थोरै कविता लेखेजस्तो लागेपनि सुनाउन बस्दा धेरै लेखेजस्तो लाग्ने गरेको अनुभवसुनाउनुभयो । वाचन गर्न बसेपछि कुन सुनाउने भनेर आफैं अलमलमा पर्ने गरेको उहाँले बताउनुभयो । “यसो सम्झन्छु मैले ४०–४१ सालदेखि कविता लेख्न थालेको हुँ, यति लामो समयमा मैले कति थोरै कविता लेखेछु भन्ने लाग्छ,” मुकारुङले भन्नुभयो, “यस्ता कार्यक्रमहरुमा कविता सुनाउन बस्दा चाहिं फेरि कति धेरै कविता लेखेछु जस्तो लाग्छ । कुन कविता सुनाऔं भनेर आफैं अलमलमा पर्छु ।” 

कवि मुकारुङका ‘देश खोज्दै जाँदा’ ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’, ‘यलम्बर’, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’, ‘तर्कहरुको विपक्षमा’, ‘भावालय’लगायत विभिन्न कृति प्रकाशित भइसकेका छन् । हरेक महिनाको पहिलो शनिबार हुने कार्यक्रममा विराटनगरसहित पूर्वका विभिन्न जिल्लाबाट साहित्यकारहरु उपस्थिति हुने गरेका छन् । कोरोनाका कारण लामो समय स्थगित भएर सुरु भएको काव्यरोहणलाई दर्शक–स्रोताले निकै माया गरेको अर्का कार्यक्रम संयोजक धीरज राईले बताउनुभयो । टिकट काटेर कविता सुन्ने कार्यक्रम पूर्वमै पहिलो भएको राईको भनाइ  । सोही अवसरमा कवि मुकारुङलाई आरोहणका तर्फबाट अध्यक्ष भैरव क्षेत्री र महासचिव प्राज्ञ विवश पोखरेलले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.