Websoft University

ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत


विराटनगर  माघ १६ गते ।  रातो तारा डट कम,ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् । 


दाहाललाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरे । दाहालका साथमा उनका मेनेजर विकास खेतानलगायत थिए । लगत्तै दाहाललाई विराटनगरस्थित होटल रत्नाले पनि स्वागत गरेको थियो । दाहाल आज विराटनगरको होटल रत्नामै बस्ने कार्यक्रम छ । भोली १२ बजे बन्जरा एग्रोसँग सम्झौता गर्ने औपचारिक कार्यक्रम सकेर उनी काठमाडौं फर्कने बताइएको छ । 


को हुन् प्रिन्स दाहाल ?

नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रच्ने खेलाडी हुन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगलतर्फ उनी पहिलो नम्बरमा परेका हुन् ।

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरियताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो । 

मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए । अगाडिका दुई खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि उनी शीर्ष स्थानमा पुगेका हुन् ।

फेडेरेसनले गत पुसमा सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ । पहिलो चरणबाटै बाहिरिएबाहेक हरेक चरणको निश्चित अंकका आधारमा प्रिन्सको १० हजार ४ सय अंक पुगेको हो । 

विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्सले यसलाई कायम राख्न सकेमा आसन्न जुनियर विश्व च्याम्पियनसिपमा आकर्षणको केन्द्र बन्नेछन् । यो प्रतियोगिता अघिल्लो वर्षको फेब्रुअरीमै आयोजना हुने तालिका भए पनि कोभिडका कारण स्थगित भएको छ ।

वरीयता प्रवेशपछि प्रिन्सको प्रदर्शन (आधिकारिक)

२०१९ अप्रिल, योनेक्स रोजा जुनियर इन्टरनेसनल सिरिज–राउन्ड ६४

२०१९ अप्रिल र मे, पेम्बानगुनान जय राय जुनियर ग्रान्ड प्रिम्स–राउन्ड ६४

२०१९ जुलाई, ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप–राउन्ड ३२

२०१९ अगस्टरसेप्टेम्बर,  इन्डिया जुनियर इन्टरनेसनल सिरिज–राउन्ड ३२

२०१९ सेप्टेम्बर, दुबई इन्टरनेसनल सिरिज–स्वर्ण

२०१९ सेप्टेम्बर, अन्नपूर्ण नेपाल इन्टरनेसनल सिरिज–सेमिफाइनल

२०१९ नोभेम्बर, योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज–राउन्ड ६४

२०१९ डिसेम्बर, योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

२०२० जनवरी, प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिज– फाइनल

२०२० फेब्रुअरी र मार्च, डच जुनियर इन्टरनेसनल सिरिज– प्रिक्वार्टरफाइनल

२०२० मार्च, जर्मन जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.