Websoft University

भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ

 


बिराटनगर । रातो तारा डट कम,अन्तरवार्ता-दिलकुमार घमाल,अध्यक्ष, नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी) 

विदेशमा रहेर पनि नेपालीहरूले मुलुकको गरिमालाई उच्च राख्न केही न केही गतिविधि गरिरहेकै हुन्छ । साहित्य, कला, संगीतका साथै खेलकुदका माध्यमबाट नेपाली माटोलाई विश्व समुदायमा परिचित गराउने भूमिका नेपालीहरूले नै खेलिरहेका छन् । विदेशमा रहेर नेपालीहरूले पैसा कमाउनेतर्फ मात्रै ध्यान दिंदैनन् परेको बेला मातृभूमिलाई सहयोग र देश चिनाउने काम पनि गरिरहेका छन् । यसको ज्वलन्त उदाहरणका रुपमा अष्ट्रियामा यही नोभेम्बर ७ तारिखमा हुने खुल्ला भलिबल प्रतियोगितालाई लिन सकिन्छ । नेपाली युरोपियन खेलकुद संघ (एनइएससी) आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको संघका अध्यक्ष दिलकुमार घमाल बताउँछन् । युरोपमा रहेका नेपालीबीच आपसी सभ्दभाव अभिवृद्धि गर्ने र स्वस्थ जीवनका लागि सचेतना जागृत गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घमालको भनाइ छ । विगत दुई दशकभन्दा लामो समयदेखि अष्ट्रियाको तिरोलस्थित इन्स्ब्रुकमा होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका घमालसँग प्रतियोगिताको तयारीका विषयमा गरिएको कुराकानीको सार ः 

भलिबल प्रतियोगिताको तयारी कस्तो हुन्छ ? 

नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा यही नोभेम्बर ७ तारिखमा पहिलोपटक हुन लागेका खुल्ला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा विभिन्न ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । अहिले प्रचारप्रसार, अतिथिहरूलाई निमन्त्रणालगायतका काम भइरहेका छन् ? 

प्रतियोगितामा ६ टिम सहभागी हुँदैछन् भन्नुभयो, कुन–कुन टिमको सहभागिता रहने निश्चित भयो ? 

यही नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि ६ वटै टिमको टुंगो लागिसकेको छ । द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया,  एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भइसकेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावलीसमेत हामीलाई प्राप्त भइसकेको छ । एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल, राजु सिलवाल, सूर्य लामा, रोशन तामाङ, प्रकाश खनाल, लक्ष्मण भुजेल र महेन्द्र ढकालले खेल्दा नेपाली युथ अष्ट्रियाबाट किरण श्रेष्ठ, गोविन्द छन्त्याल, ओमप्रकाश मगर, केडी भट्ट, लोकबहादुर श्रेष्ठ, थार भण्डारी, इन्द्र केसी सन्तोष भेटवाल र दिनेश बैदवार खेल्नु हुनेछ भने टिमको म्यानेजरका रुपमा रोन्नी गुरुङ र कोचमा कुमिर घर्ती मगर रहनु हुनेछ । यस्तै एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लबबाट इन्द्र छन्त्याल, सुमन विश्वकर्मा, निखिल मण्डल, अमित थापा, दीपक बस्नेत, नरबहादुर फगामी, साजन फगामी, उदय घिसिङ र यामनारायण मानन्धरले टिमको प्रतिनिधित्व गर्दै आउने पक्का भएको छ । आयोजक एनईएससीबाट अंग कामी शेर्पा, प्रेम रसाइली, रोहित सुनार, ख्याम विश्वकर्मा, एलविन हुमान, गार टेम्बा शेर्पा, राजु विश्वकर्मा, टेकराज क्षेत्री र म आफैं खेल्नेछु । धौलागिरी चेक रिपब्लिकबाट सुजन देवकोटा, रोशन खड्का, दीपेन्द्र साहनी, टीका महतो, सन्तोष मगर, दिलबहादुर बस्नेत, दीपेन्द्र महतो र त्रिलोकसिंह धामीले खेल्दा एनएफटी म्युनिख जर्मनी क्लबबाट अन्जल अधिकारी, सुमनजंग पाण्डे, रामकृष्ण थापा, प्रवेश पौडेल, विष्णु कोइराला, निरा गुरुङ र सागर धितालले खेल्नु हुनेछ । 

यति ठूलो प्रतियोगिता गर्दै हुनुहुन्छ, यसको पछाडि खास केही उद्देश्य पनि छन् कि ? 

कुनै पनि काम गर्दा उद्देश्य पक्कै पनि हुन्छ । उद्देश्य बिनाको कामले सार्थकता पनि पाउँदैन । यसर्थ यो प्रतियोगिताको खास उद्देश्य भन्नुपर्दा युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वस्थ जीवन व्यतीतका लागि सचेतना जगाउनु नै हो । हामी खेलमार्फत युरोपभरि रहेका नेपालीलाई जोड्न चाहन्छौं । एकै पटकमा त्यो सम्भव नहोला । हामी लक्ष्य प्राप्तिका लागि अनवरत रुपमा लागिरहनेछौं । 

विदेशमा बस्ने नेपालीमा पनि राजनीति व्यापक हुने गरेको समाचार आउने गरेको छ, यो प्रतियोगितामा पनि त राजनीति होला नि ? 

हो तपाईंले सुन्नु भएको ठीक हो । विदेशमा बस्ने नेपालीहरूमा पनि राजनीति हुने गरेको छ । पार्टीको पछाडि कुद्नेहरू पनि छन् । तर हामी खेलमार्फत राजनीतिले विभाजित भएका नेपालीलाई जोड्न चाहन्छौं । राजनीतिले बिगारेका सम्बन्धहरूलाई सपार्न चाहन्छौं । अघि पनि मैले भनिसकें कि युरोपमा बस्ने नेपालीहरूबीच भाइचारा अभिवृद्धि गर्नु नै यस प्रतियोगिताको प्रमुख उद्देश्य हो । यो प्रतियोगिता गरेर नाम र दाम कमाउने उद्देश्य होइन । यो प्रतियोगिता गर्न र संस्था बनाउन विगत लामै समयदेखि समय दिइएको छ । एकातिर समय दिएका छौं भने अर्कातिर हाम्रो गोजीबाट निकै खर्च पनि भइरहेको छ । खर्चको हामीलाई चिन्ता छैन । यो प्रतियोगिता सबैको साथ र सहयोगले अवश्य पनि भव्य र सभ्य हुनेमा हामी ढुक्क छौं । 

कुनै पनि कार्यक्रम गर्दा सबैभन्दा अगाडि आर्थिक नै आवश्यक पर्छ, आर्थिक पक्षको व्यवस्थापन कसरी मिलाउनु भएको छ ? 

यो प्रतियोगिता गराउन निकै खर्च लागेको छ । यसभन्दा अगाडि पनि निकै खर्च भइसकेको छ । अझै हुनेछ । एनइएससीकै साथीहरू र युरोपका विभिन्न स्थानमा बस्नुहुने शुभचिन्तकहरूले स्वस्फर्त सहयोग गरिरहनु भएको छ । कतिपयले आर्थिक सहयोग गर्नु भएको छ भने कतिपयले सल्लाह र सुझाव दिएर सहयोग गर्नु भएको छ । यतिबेला हामीलाई चारैतिरबाट हौसला प्राप्त भइसकेको छ । जसले गर्दा आगामी दिनमा प्रतियोगिता गर्न थप ऊर्जा प्राप्त भइरहेको छ । 

विजेता टिमले कस्तो पुरस्कार पाउँछ ? 

प्रतियोगिताको विजेताले १ हजार युरोसहित प्रमाणपत्र, मेडल र ट्रफी तथा उपविजेताले ३ सय युरोका साथै प्रमाणपत्र, मेडलसहित ट्रफी पाउनेछ । पुरस्कार ठूलो कुरा होइन । यसबाट आपसी सद्भाव अभिवृद्धि हुन्छ, विभिन्न ठाउँमा छरिएर रहेका नेपालीबीच भेटघाट हुन्छ । खेलकुद भनेको अनुशासन पनि हो । अनुशासनमा रहन पनि यस प्रतियोगिताले सिकाउँछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.