Websoft University

कांग्रेस प्रदेश नं १ अधिवेशनको तयारी तीव्र-- एक करोड खर्च हुने अनुमान, प्रतिनिधिसहित दुई हजार सहभागी हुने

 


विराटनगर मंसिर ८ गते । रातो तारा डट कम, नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । 

बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् । 

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र यसान १७ सय प्रतिनिधिसहित दुई हजार जना सहभागी हुनेछन् ।

अधिवेशनको उद्घाटन मंसिर १६ गते बिहीवार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भने,“संघीयतासंगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौं ।”  अधिवेशन सम्पन्न गर्न आवासलगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले बताए । 

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ । कोइराला संयोजक रहेको प्रचार समितिमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला वल्लभ घिमिरे सदस्य सचिव छन् । यसैगरी सदस्यमा प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङ अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र अजित झा छन् । व्यवस्थापनको जिम्मा पाएका मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तिमा रु. १ करोड खर्च हुने अनुमान गरिएको बताउँदै भने,“प्रतिनिधिहरुको आवास, खानपानदेखि अन्य खर्चसमेत गर्दा त्यति खर्च हुने देखिन्छ । प्रतिनिधिहरुको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्न सक्छ ।”

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ । समितिका सदस्यहरु  सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.