Websoft University

युवा कवि मीनकुमार नवोदितको ‘समयको बयान’कविता संग्रहको विमोचन

 


काठमाण्डौ भदौ २६ गते । रातो तारा डट कम, युवा कवि मीनकुमार नवोदितको ‘समयको बयान’कविता संग्रहको विमोचन गरिएको छ ।

नेपाल साहित्यिक पत्रकार संघले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गरे । कविता संग्रहका बारेमा वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कविता संग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताए । उनले संग्रहले नेपालको राजनीतिक, आर्थिक, सामाजिकमात्रै नभएर लैंगिक विभेदलाई सशक्त रुपमा उठाएको उल्लेख गरे । उनले भने, “मीनकुमार नवोदितको समयको बयानले वास्तवमै अहिलेको युगको बयान गरेको छ । यस संग्रहले नवोदितलाई निकै माथि उठाउँछ ।” समालोचक प्रधानले समयको बयानले नवोदितलाई कविका रुपमा स्थापित गर्ने विश्वास गरे । “नेपाली कविता लेखनले अहिले नयाँ उचाइ प्राप्त गरिरहेको छ, यसमा यो कविता संग्रहले पनि एउटा इँटा थपेको छ,” उनले भने, “सबै क्षेत्रलाई संग्रहले उठाएकाले पाठकको मन जित्नेछ ।”

त्यस्तै समालोचक ज्ञानु अधिकारीले नेपाली कविता साहित्यकै सबैभन्दा पुरानो विधा भएको बताउँदै नवोदितको कविता संग्रहले त्यो इतिहासमा एउटा इँटा थपेको चर्चा गरे । उनले नवोदितको कविता संग्रह पढ्दा अहिलेको नेपालको तस्बिर देखिने बताए । बेरोजगारी समस्या, युवा पलायन, आर्थिक अभाव, मानवीय संवदेनामा आएको ह्रासलगायतका विषयलाई संग्रहमा सशक्त रुपमा उठाएको उनको भनाइ थियो ।

कार्यक्रममा अग्रज कवि विमल भौकाजी, उमेश राई अकिन्चन, शकुन्तला जोशी, महेश पौड्याल,शुभलक्ष्मी लम्साल, रामगोपाल आशुतोष, मन्जिला उपाध्यायले विमोचित कृतिका कविता वाचन गरे ।

प्रमुख अतिथि तुलसी दिवसले नेपाली साहित्यको कविता विधामा नवोदितले प्रचुर सम्भावना बोकेको बताए । “काठमाण्डौ बाहिर बसेर पनि राष्टियस्तरमै चर्चा कमाउनु सामान्य कुरा होइन,”उनले भने, “विगतमाभन्दा नवोदितमा निखरता आएको पाउँदा मलाई धेरै नै खुशी लागेको छ ।”नवोदितको लेखन अहिलेको युवा पुस्ताकालागि नयाँ आयाम भएको र विशेष गरी ग्रामीण विषयलाई उठाउने गरेको उनले बताए । उनले संग्रहभित्रका अधिकांश कविता ग्रामीण जनजीवनसँग निकट गरेको उल्लेख गरे ।

आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले नयाँ संग्रहले नवोदितलाई युवा पुस्ताका सशक्त कविका रुपमा स्थापित गरेको बताए । नेपाल सरकारबाट २०७७ सालको युवा वर्ष मोती पुरस्कारबाट विभूषित नवोदितका यसअघि ‘फूलबारी भित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’गरी दुई कविता संग्रह प्रकाशित भइसकेका छन् । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको कविता संग्रहमा ४२ वटा कविता संग्रहित छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.