Websoft University

परोपकारी मानवताप्रेमी मनहरुको सहयोगमा मानवसेवा आश्रम सञ्चालन हुँदै,


बिराटनगर चैत्र ३१ गते । रातो तारा डट कम, परोपकारी मानवताप्रेमी मनहरुको सहयोगमा सञ्चालन हुँदै आएको मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले हुनेहरुबाट सहयोग जुटाएर नहुनेहरुका लागि सहयोग गर्दै आएको छ ।

वि.स २०६९ सालमा मकवानपुरको हेटौंडाबाट सुरुवात भएको मानवसेवा आश्रमले हाल सातै प्रदेशमा सेवा विस्तार गर्ने सन्दर्भमा प्रदेश नं. १ विराटनगरमा सेवा सञ्चालन गरिरहेको छ ।
सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलन सेवाकार्यमा मानवसेवा आश्रम समर्पित रहेको छ ।

जसको कोही छैन, जसको केही छैन, सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका छन् र सहयोगको अपेक्षा गरिरहेका छन्, मानसिकरुपमा कमजोर रहेका छन् । त्यस प्रकृतिका मानिसहरुको सेवा भइरहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
यसरी परिचयविहीन, मानसिकरुपमा कमजोर मानिसहरुको सेवा व्यवस्थापन गरिरहेको र आफ्नो देशका सडकमा रहेका मानिसहरुको सेवाका लागि विदेशीको आशा गर्नुभन्दा नेपाली मनहरुको साथ र सहयोगमा सञ्चालन गर्नुपर्छ भनेर सेवा सुरुवात गरेको र हालसम्म पनि बैदेशिक निकायको सर्त सहितको सेवा स्वीकार नगरेको र भविष्यमा पनि यो आदर्शलाई निरन्तरता दिने अध्यक्ष अधिकारीले बताए ।

प्रदेश नं. १ लाई केन्द्रीत गरि विराटनगरमा सञ्चालन भइरहेका ३ वटा सेवाकेन्द्रहरुमा २०९ जना विभिन्न उमेर समुह र विभिन्न प्रकृतिका मानिसहरु आश्रित हुनुहुन्छ । २०९ जना व्यक्तिहरुमध्ये करिब ८०% व्यक्तिहरु मानसिकरुपमा कमजोर रहेको र ३०% व्यक्तिहरु स्वयंसेवा गर्न नसक्ने, सुतेकै ठाउँमा दिशा पिसाब गर्ने, हलचल गर्न नसक्ने व्यक्तिहरु रहनुभएको मानवसेवा आश्रम प्रदेश नं. १ का संयोजक नवराज के.सीले बताए ।

मानवसेवा आश्रमले सक्नेहरुबाट सहयोग जुटाउने र नसक्नेहरुको सेवामा जुटाउने गरिएको छ । सक्नेहरुले आफ्नो जन्मदिन, विवाह बर्षगाँठ, आमा वुवाको सम्मान, पितृ स्मरण लगायतका विशेष दिनमा आश्रमको सेवामा सहजता प्रदान गर्न सकिने के.सीले बताए ।

विविध कारणले आश्रमको सेवामा जटिलता र मेची महाकाली यात्रामा प्रदेश नं. १ को झापा, सुनसरी र मोरङ जिल्लाबाट ३ दिनमा २५० जना सडकआश्रित व्यक्तिहरुको उद्धार गरिएकोले सेवा व्यवस्थापनमा चुनौति थपिएको र खाद्यान्न लगायतका सामग्रीहरु आश्रमका अन्य सेवाकेन्द्रहरुाट ल्याइएको के.सीले बताए ।

अहिले मानवसेवा आश्रमको सेवा सहजताको लागि नगरपालिकामा कार्यरत पुनमकुमार दाहाल, गोपाल मोटर्सका सञ्चालक प्रवीण खड्का, अञ्जना फर्निचरका सञ्चालक अनुप सिग्देल, न्यू क्वालिटी आइसक्रिमका सञ्चालक बेदनाथ भेटवाल लगायतले भोजन सहयोग गरेका छन् ।

हाल मानवसेवा आश्रम विराटनगरको तिनटोलिया (अरनिको स्कुलसँगै), पोखरिया (बन कार्यालय सँगै) र ठुलो मिलचोक ( डिन कार्यालयको पहिलेको घर) मा सञ्चालन रहेको छ । आश्रमको सेवा सहजताको लागि एउटा सेवाकेन्द्रमा एक छाक भोजनसेवा सञ्चालन गर्नको लागि रु.१० हजार निर्धारण गरेको तर आवश्यकता अनुसार लत्ताकपडा, औषधी समेत सहयोग गर्न सकिने के.सीले बताए ।

मानवसेवा आश्रमको लक्ष्य उद्धार गर्ने मात्र नभएर परिवारको खोजी गर्दै पारिवारिक पुनर्मिलन आश्रमको पहिलो उद्धेश्य रहेको छ । मानवसेवा आश्रमले हालसम्म प्रदेश नं. १ मा सेवा सुरुवात गरेको करिब १८ महिनामा १४८ जनाको परिवार खोजेर पारिवारिक पुनर्मिलन गराएको विवरण रहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.