Websoft University

भानु साझा पुस्तकालयले मनायो स्वर्ण महोत्सव !


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वडा नं ५ स्थित तिनपैनीमा रहेको भानु साझा पुस्तकालयले ५० औं वर्ष स्वर्ण महोत्सव मनाएको छ। २०२७ सालमा स्थापना भएको यस पुस्तकालयको स्वर्ण महोत्सवमा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता, उपप्रमुख धनमाया तामाङको विशिष्ठ आतिथ्यता र भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले आवश्यक परेको खण्डमा भानु साझा पुस्तकालयका लागि नगरको तर्फबाट साझेदारी गरी सक्दो साथ र सहयोग रहने बताएका छन्।उनले ईलाइब्रेरीका लागि नगरपालिकाले ५ वटा कम्प्युटर सहयोग गर्ने बताउँदै स्मारिकाको छपाई खर्च पनि नगरपालिकाले सहयोग गर्ने बताए।


कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष लोक वहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने पूर्व सचिव खगेन्द्र सिग्देल, नारायण श्रेष्ठ, समाजसेवी देवी डाँगी, पूर्व सभापति विरेश राई, सल्लाहकार ज्ञानेन्द्र ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा अतिथी सुन्दरहरैंचा वडा नं ५ का वडाध्यक्ष राम प्रसाद रिजाल, वडा नं ६ का वडाध्यक्ष जीवन कुमार राईले वडाको तर्फबाट अगाडि पनि साथ र सहयोग गर्दै आइरहेको बताउँदै आउने दिनहरूमा पनि नगर सँग समन्वय गरी सक्दो साथ र सहयोग रहने बताएका छन्।

कार्यक्रममा पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो। संस्थापक सचिव तथा पूर्व सभापति राम चन्द्र लिम्बू, संस्थापक उपसचिव धरणीधर गुरागाईं , संस्थापक कोषाध्यक्ष भरत राई, पूर्व सभापति कृष्णप्रसाद दाहाल, सुरेश राई ,लक्ष्मी प्रसाद आचार्य र हर्क वहादुर लिम्बुलाई मरणोपरान्त सम्मान गरिएको थियो। कार्यक्रममा पूर्व सभापति नारायण प्रसाद दाहाल, नुतनदेव गौतम र विरेश राईलाई पनि कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरिएको थियो। त्यसैगरी स्वर्ण महोत्सवमा साहित्यकार मनु मन्जिल, विवेक विवश रेग्मी, प्रदीप लम्साल, गायत्री लम्साल, बालकृष्ण सिग्देल, सुमन सुब्बा, नवराज मैनाली, श्याम भट्टराई, टेकबहादुर मोक्तान लगायतले गित तथा कविता वाचन गरेका थिए भने बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए।

त्यस्तै उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख वडाध्यक्ष लगायत अन्य अग्रज व्यक्तित्वहरुले यस साझा पुस्तकालयको स्तर उन्नतीको लागि आगामी दिनमा सहयोग पुर्याउने आश्वासन दिएकोमा अध्यक्ष पुरन राईले सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै आफु पनि यस पुस्तकालयका लागि निरन्तर लागि पर्ने बताएका छन् भने सो कार्यक्रम पुस्तकालयका साहित्य सचिव गीता प्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.