विराटनगर चैत ३ गते । रातो तारा डट कम, आगामी चैत ५ गतेदेखि विराटनगर विराट फुटवेयर विजनेस एक्स्पो हुने भएको छ । विराटनगरमा ४ वर्षदेखि फुटवेयर एक्स्पो हुँदै आएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन, नेपालको आयोजनामा वैशाख ५ गते सम्म फुटवेयर एक्पो हुने आयोजक समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ एक महिना सम्म चल्ने मेलामा २ करोड बढीको कारोवार हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला अवधिमा ५ हजार बढी मोडलका २ लाख ५० हजार जोर जुत्ताचप्पलको विक्री हुने छ । १२ वटा कम्पनीका ६० वटा स्टल रहने संयोजक उपाध्यायले बताए ।
फुटवेयर विजनेस एक्पोमा बेस ग्लोवल प्रालि, शिखर सुज इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरवी पोलमर्स कम्पनीका उत्पादन रहने मेला संयोजक उपाध्यायले जानकारी दिए । उनका अनुसार मेलामा १ सय देखि १० हजार सम्मका तथा १० देखि ५० प्रतिशत सम्म छुटमा जुत्ता चप्पल र लेदर बेल्ट विक्री गरिने छ ।
नेपालमा रहेका लघु, साना, मझौला र ठुला गरि १ हजार ५ सय संख्यामा जुत्ता चप्पल उत्पादन गर्ने उद्योग रहेको र बार्षिक ५ करोड बढीको उत्पादन हुने गरेको मेला संयोजक उपाध्यायले बताए । उनका अनुसार ९ करोड जोडी जुत्ता चप्पलको आन्तरिक बजारमा माग रहेको छ । जुत्ता चप्पल उद्योगमा ५५ हजार श्रमिक कार्यरत रहेको उपाध्यायले बताए ।
Post a Comment