Websoft University

शिवालय माविको ६० औँ वार्षिकोत्सव सम्पन्न, ५ जनालाई शिवालय वर्ष सम्मान


पोखरा, पुस २१ गते । रातो तारा डट कम, कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुङ्गाना रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताए । कोभिड–१९ का बिचमा पनि प्रभावकारी पठनपाठन सञ्चालन गरेकोमा प्रशंसा गर्दै उनले विद्यालयको विकासका लागि गाउँपालिकाले जुनसुकै सहयोग गर्ने बताए । शैक्षिक सुधारका लागि शिक्षासँग सम्बन्धित सबै पक्षको समान सक्रियता आवश्यक भएको उनको भनाइ थियो । प्रविधिमैत्री शिक्षाका लागि गाउँपालिकाले यस वर्ष शिक्षकहरुसँगको साझेदारीमा एक शिक्षकः एक ल्यापटप कार्यक्रम अघि बढाइएको जानकारी दिँदै ओझाले शिक्षामा अपडेट हुनैपर्ने धारणा राखे । गाउँपालिकाका कुनै पनि विद्यार्थी पढ्नका लागि बाहिर जानुनपर्ने गरी विकास गर्ने योजनामा गाउँपालिका अघि बढेको ओझाले बताए ।

गाउँपालिकाकै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले शिवालयको शैक्षिक प्रगति सबैले देख्न सक्ने गरी अघि बढेको बताए । लगातार २ वर्षसम्म गाउँपालिकाभित्रको उत्कृष्ट विद्यालयका रुपमा शिवालय पुरस्कृत भएको स्मरण गर्दै बाहिरबाट पनि विद्यार्थी शिवालयमा पढ्न आउने वातावरण बन्दै गएको पौडेलले बताए । उनले विद्यार्थीमैत्री वातावरण बन्दै गएको पाउँदा खुसी लागेको भनाइ राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले शिवालय माविलाई शैक्षिक र भौतिक दुवै ढङ्गले उत्कृष्ट बनाउनेतर्फ आफूहरु लागिपरेको बताए । उनले कुनै पनि निर्णय गर्दा सरोकारवालासँग सल्लाह गरेर अघि बढेकै कारण कुनै पनि योजना सफल बनेको अनुभव सुनाउँदै सुवेदीले आगामी वर्ष अवस्था सामान्य रहेमा विद्यालयको हिरक महोत्सव मनाइने घोषणा गरे । विद्यार्थीको हक हितका लागि शिक्षकको हक हित सुनिश्चित हुनुपर्ने तथ्य आफूले बुझेको भन्दै उनले सक्दो न्यायोचित वातावरण निर्माणमा व्यवस्थापन समिति लागिरहने प्रतिबद्धता पनि जनाए ।

सो अवसरमा वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार तिलबहादुर थापा, सल्लाहकार बलबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए ।

शैक्षिक सत्र २०७६ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारका साथै विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले शैक्षिक प्रतिवेदन तथा लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षक जयराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ऋषिराम ओझाले स्वागत मन्तव्य तथा शिक्षिकाहरु शान्ता तिमल्सेना, शोभा तिवारी र लक्ष्मी न्यौपानेले स्वागत गीत प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.