काठमाण्डौ माघ ५ गते । रातो तारा डट कम,निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख एवम् निर्वाचन प्रतिनिधिहरूसँग छलफल गरेको छ । हिजो भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको मिति घोषणा भएपछि आयोगले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकमा सहभागी दलका प्रमुख एवं प्रतिनिधिले मतदान केन्द्र र मतदानस्थल निर्धारण गर्दा भोगोलिक विकटता, केन्द्र तथा स्थलको सेवा सुविधा, मतदाताको पहुँचको अवस्था र भौतिक पूर्वाधारलाई ख्याल गर्न सुझाव दिएका छन् । मतदाता नामावलीमा उजुरी, दावी विरोधका लागि निर्धारित समय कम भएकोले समय थप हुनुपर्ने, प्रचार प्रसारलाई व्यवस्थित बनाउनुपर्ने, १८ वर्ष उमेर पुरा गरेका सबै मतदाताले मतदान गर्न पाउने सुनिश्चितता गनुपर्ने, कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल निर्धारण गर्नुपर्ने लगायतका विषयमा सुझाव दिनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सिआइएनलाई जानकारी दिनुभयो ।
बैठकमा ११ वटा राजनीतिक दलका प्रमुख एवं निर्वाचन प्रतिनिधिका साथै आयोगका आयुक्तहरू, सचिव, सहसचिव लगायत उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।
Post a Comment