Websoft University

उपचार गराइरहेका कोरोनासंक्रमित ७ जनाको बिराटनगर मा मृत्यु


विराटनगर कार्तिक ४ गते । रातो तारा डट कम, कोरोना संक्रमणबाट विराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । एकै दिन विराटनगरमा सात जनाको मृत्यु भएको अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेहरुमा विराटनगरका ४, विर्तामोड,रंगेली र इटहरीका १–१ जना रहेका छ ।

विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका पाँच महिला र दुई पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको आज बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै आज विहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ । केही दिनअघि पीसीआर परीक्षण गराएका उनी रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा रहेको बस्नेतले बताए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो पुरुषलाई उपचारका लागि कोभिड अस्पताल ल्याइएको हो ।

यता मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ । असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको मृत्यु सोमबार राति १२ बजेतिर भएको हो ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ गते न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।

त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको आव बिहान ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा ज्यान गएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी उनले दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.