काठमाण्डौ असोज १ गते । रातो तारा डट कम, देशैभरी रासायनिक मलको अभाव अझै टरेको छैन । समयमा मल हाल्न नपाएका किसान धान उत्पादन घट्न सक्ने बताईरहेका छन् । तर पाल्पा रम्भा गाउँपालिका १ सँगाहाका किसानले स्थानीय स्तरमै मल उत्पादन गरेको दाबी गरेका छन् ।
रम्भा १ सँगाहाका स्थानीयले उत्पादन गरेको मलले धानबाली राम्रोसँग फस्टाएको हुँगीकी दुर्गादेवी अर्यालको भनाइ छ । यूरिया मल हालेको भन्दा स्थानीय उत्पादनको मलले बाली राम्रोसँग सप्रिएको देखेर आफू स्थानीयले उत्पादन गरेको मल किन्न आएको अर्यालले बताउनुभयो ।
विरुवामा भएको नाईट्रोजनलाई झोल मल, विषादी र किटनाशक औषधी बनाउने योजना अनुसार अघिल्लो वर्ष जैविक मल बनाएर प्रयोग गरिएको थियो । यसवर्ष पनि त्यसैलाई निरन्तरता दिन लागिएको स्थानीय छविलाल डुम्रेले बताउनुभयो । समुदायका एक सय ४५ घर मल उत्पादनमा खटिएका छन् ।
अमेरिकामा प्राकृतिक श्रोत व्यवस्थापनमा काम गर्नुभएका कृष्ण पाठकले किसानका लागि घाँस र मल सहज नहुँदासम्म कृषि क्षेत्रमा सफल नभईने भन्दै उत्पादित मलको प्रयोगशाला परीक्षण गर्ने तयारी रहेको बताउनुभयो । जैविक मलले माटोमा उर्वराशक्ति बढाउने थाहा पाएपछि, आफैं खटेर मल उत्पादनमा लागेको स्थानीय कुलराज रानाभाटले बताउनुभयो ।
उत्पादित मल धानमा हाल्दा निकै राम्रो भएको उहाँको अनुभव छ । मनसुनी वर्षाले साथ दिएकाले यसवर्ष देशैभरी बेलैमा रोपाई भयो । अन्य ठाउँमा रासायनिक मल नपाएर धान उत्पादन घट्ने चिन्ता भएपनि पाल्पाको रम्भा १ सँगाहाका किसानलाई त्यस्तो चिन्ता छैन ।
Post a Comment