काठमाण्डौ भाद्र ५ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।
तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै समतामूलक प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको हो । उहाँले तीजमा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन उनले सबैलाई आग्रह पनि गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको संक्रमण देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा घरैमा बसेर तीज पर्व मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।
तीजको अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आग्रह गर्नुभएको हो । कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको सङ्क्रमणबाट जोगिन नागरिक आफैं पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
Post a Comment