Websoft University

बुढीगंगामा कृषक पेन्सन कार्यक्रम सुरु



काठमाण्डौ । रातो तारा डट कम,विगतका दुई वटा सरकारले किसानलाई पेन्सन दिने घोषणा मात्र गरेनन्, कार्यान्वयनका लागि योजना पनि बनाए । तर त्यो योजना कार्यान्वयनका लागि भन्दै केही बजेट सक्ने बाहेक उल्लेखनीय अरु कुनै काम अघि बढेको छैन । चार वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कृषी मन्त्री हरिवोल गजुरेलले घोषणा गर्नुभयो, ६० बर्ष पुरा गरेका किसानलाई पेन्सन दिइनेछ । 

त्यसको एक वर्षपछि प्रचण्ड नेतृत्वको सरकारका कृषि मन्त्री गौरिशंकर चौधरीले पनि किसानलाई पेन्सन दिने योजनाले निरन्तरता पाउँछ भन्नुभयो । तर त्यसपछि बनेको सरकारले किसान पेन्सन कार्यक्रमलाई खासै ध्यान दिएको छैन । किसान पेन्सन योजना अघि बढाउन राष्ट्रिय किसान आयोगलाई जिम्मेवारी दिए पनि खासै प्रगति नभएको निवर्तमान कृषिमन्त्री चक्रपाणी खनालले बताउनुभयो । किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधी भने तय गरेको छ । संघीय सरकारले अघि बढाउन नसकेको योजना बाजुराको एउटा स्थानीय तहले सुरु गरेको छ । 

बुढिगंगा नगरपालिकाले सुरु गरेको कृषक पेन्सन कार्यक्रम अन्तर्गत् किसानहरु धमाधम सुचिकृत भईरहेका छन् । बुढीगंगा नगरपालिका १ कुडीका लालबहादुर सिंह तरकारी र फलफूल फलाएर मनग्य कमाउनुहुन्छ । अब स्थानीय सरकारले पेन्सन पनि दिने भएपछि उहाँ खुशी हुनुहुन्छ । बुढीगंगा नगरपालिका बेल्काटियाँका उमाकान्त पाध्याय पनि टमाटर, काउली र बन्दा लगायत तरकारीको व्यवसायिक खेति गर्नुहुन्छ । अब आफ्नो पेशा र मिहनतको मुल्याङ्कन होला भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

किसानलाई पेन्सन् र तपाईको मिहेनत हाम्रो लगानी, जस्ता कार्यक्रम ल्याएर बुढीगंगा नगरपालिका, नागरिकलाई समृद्ध बनाउने योजनामा छ । ७ सय ५३ स्थानीय तह मध्य किसान पेन्सन कार्यक्रम ल्याउने बुढीगंगा पहिलो स्थानीय तह हो । कृषक पेन्सन कार्यक्रमका लागि हालसम्म ४६ जना किसानले फारम भरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयो । 

कृषक पेन्सन् कार्यक्रम अन्तर्गत किसानको वर्गिकरण गरि व्यवसायिक तरकारी, फलफूल खेति गर्ने र पशुपालन गर्ने किसानलाई मासिक एक हजारका दरले नगरपालिकाले प्रोत्साहन स्वरुप रकम दिनेछ । व्यवसायिक कृषिमा सक्रिय भएकाले मात्रै पेन्सन पाउनेछन् । कृषक पेन्सन् कार्यक्रम प्रभावकारी भए, नगरपालिकाले आउँदो दिनमा अवकाश प्राप्त किसानलाई पनि पेन्सन् दिने योजना बनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.