काठमाण्डौ जेष्ठ ३१ गते । रातो तारा डट कम,बाजुराका किसानले खेतमा लगाएको गहुँ,जौँ र आलु थन्काएर धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै जिल्लाका सबै स्थानीय तहका ग्रामीण भेगमा धान रोप्न सुरु गरिएको हो ।
खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरका किसान यतिबेला धमाधम धान रोप्दैछन् । स्थानीय पाउनु ओलीका अनुसार तीन÷चार दिन अघिदेखि गाउँको आटीचौर जिउलोमा धान रोप्न थालिएको बताउनुभएको छ । पानीको व्यवस्था भएको ठाउँका किसानहरुले असार नलाग्दै धान रोप्न सुरु गरेका हुन् । स्थानीय किसानका अनुसार सिँचाई सुविधा भएका ठाउँ र गर्मी ठाउँमा धान रोपाई धमाधम भइरहेको छ ।
बुढीगंगा नगरपालिकाको शेरा बगरमा समेत धान रोप्ने सुरु गरिएको छ । जिल्लाका बुढीगंगा नगरपालिका,त्रिबेणी नगरपालिका,खप्तड छेडेदह गाउँपालिका,गौमुल गाउँपालिका,बडिमालिका नगरपालिका,बुढीनन्दा नगरपालिका लगायतका स्थानीयका किसान यतिखेर धान रोप्ने चटारोमा व्यस्त रहेका छन् ।
जिल्लाका किसानले टाईचिन,मार्सी,थापा चिनी,झिरी,जुम्ली धान,मार्सी धान,हिमाली कञ्चन लगायतको उन्नत जातको धान लगाउँदै आएका छन् ।
Post a Comment