काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,प्रहरीले ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीलाई नै घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतका दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिनुभयो । उनीहरुले बसमा लुकाई करिव ५५ लाख ८८ हजार मूल्य बराबरको लत्ताकपडा अवैध रुपमा नेपाल ल्याएका थिए । अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिनका लागि सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको जनाएको छ । चालक विश्वकर्मालाई सो कामका लागि सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले जानकारी दिनुभयो ।

Post a Comment