काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते उत्तरी छिमेकी चीन भ्रमणमा जानु हुने भएको छ । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी गरिरहेका रहेका छन् । बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ ।
सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्नुहुनेछ । सियान चिनियाँ राष्ट्रपति सी चिनफिङको जन्मस्थल पनि हो । सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जानुहुनेछ । भण्डारी बेइजिङमा बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

Post a Comment